अभिनेता धीरज मगर र अभिनेत्री मिरुना मगरले पहिलो पटक सहकार्य गरेको फिल्म ‘कुस्ती’को छायांकन सकिएको छ । छायांकनको ३९औँ दिनमा गीत बाहेकका दृश्य सकेर मंगलबार ‘इन्डक्ल्याप’ गरिएको निर्माता तथा निर्देशक अनिल योञ्जनले जानकारी दिए । फिल्मलाई काठमाडौँ आसपासका क्षेत्रमा खिचिएको हो ।
आगामी भदौमा रिलिजको तयारी गरिएको फिल्ममा धीरज र मिरुनासहित पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतको अभिनय छ । ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चर्चामा आएकी दीकिलाको यो डेब्यु फिल्म हो ।
निर्देशक योञ्जनले प्रेम सम्बन्धमा रहेका एक जोडीको कथामा फिल्म बनेको जानकारी दिए । उनले भने, ‘उनीहरु एकअर्कालाई माया त गर्छन्, तर आ-आफ्नो स्वभावले गर्दा सँगै रहन कठिनाईको सामना गरिरहेका हुन्छन् । फिल्ममा भावनात्मकतासँगै हास्यरस भरपूर छ ।’ फिल्ममा उनी स्वयंको लेखन छ । यसअघि उनले ‘डायरी’ निर्देशन गरेका थिए ।
फिल्ममा उमङ्ग शाहीको छायांकन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहको संगीत तथा शिशिर खातीको नृत्य निर्देशन रहेको छ । यसमा ड्रेस आइआइएफटी (धीरज एण्ड मिरुना) र बोमी राईले स्टाइलिस गरेका छन् । फिल्मलाई काठमाडौँ उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट तथा एप्पल इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछन् ।