नेपाली फिल्म क्षेत्रका लागि २०८१ साल महत्त्वपूर्ण वर्ष सावित भएको छ । किनकि, यस वर्ष व्यापारमा चमत्कार नै भयो । गत बैशाखदेखि चैत तेस्रो सातासम्म डेढ सय करोडमाथिको व्यापार नेपाली फिल्मले मात्रै गरेका छन् । जसमा सबैभन्दा ठूलो योगदान ‘पूर्णबहादुरको सारङ्गी’को रह्यो । यसले नेपालमा ४६ करोड ८० लाख ग्रस कमाएको चलचित्र विकास बोर्डको तथ्यांकमा देखिन्छ ।
‘पूर्णबहादुरको सारङ्गी’ले ऐतिहासिक कमाइ गर्ने फिल्मको कीर्तिमान बनाउँदा यस वर्ष दोस्रो धेरै कमाउने नेपाली फिल्म ‘१२ गाउँ’ बनेको छ । यसको कमाइ झन्डै २० करोड ग्रस छ । तेस्रो नम्बरमा १५ करोड २० लाख ग्रससहित ‘छक्का पञ्जा ५’ छ भने १० करोड ग्रससहित ‘बोक्सीको घर’ चौथो र ७ करोड ५० लाख ग्रस व्यापारसहित हाल प्रदर्शनरत फिल्म ‘अञ्जिला’ पाँचौं नम्बरमा छ ।
गत जेठमा प्रदर्शन भएको ‘पूजार सार्की’ पनि यस वर्ष धेरै कमाउने फिल्मको ‘टप टेन’ सूचीमा पर्छ । फिल्मको कमाइ ७ करोड ३७ लाख ग्रस छ । यस वर्ष ५ करोडमाथि कमाउनेमा ‘घरज्वाइँ’ छ भने ‘मनसरा’, ‘लाज शरणम्’, ‘ह्रस्व दीर्घ’, ‘गाउँ आएको बाटो’, ‘होस्टेल ३’ र ‘फर्की फर्की’ले ४ करोडमाथि कमाइ गरे । त्यस्तै, ‘बेहुली फ्रम मेघौली’ र ‘खुस्मा’को कमाइ ३ करोडमाथि रहेको छ ।
यस वर्ष ‘पूर्णबहादुरको सारङ्गी’पछि सबैभन्दा धेरै कमाउनेमा विदेशी फिल्म ‘पुष्पा २’ छ । यसले नेपालमा २६ करोड ४४ लाख ग्रस व्यापार गरेको बोर्डको तथ्यांकमा देखिन्छ । नेपालमा विदेशी फिल्मले गरेको यो अहिलेसम्मकै सर्वाधिक कमाइ हो । यसअघि नेपालमा सबैभन्दा धेरै कमाउने विदेशी फिल्मको रेकर्ड ‘केजीएफ २’को नाममा थियो, जसको ग्रस कमाइ १९ करोड रहेको थियो ।
त्यस्तै, यस वर्ष विदेशीतर्फ नेपालमा दोस्रो धेरै कमाइ गर्ने फिल्म ‘कल्की’ हो, जसले १२ करोड ५७ लाख ग्रस कमाएको छ । ८ करोड ११ लाख ग्रससहित ‘स्त्री २’ तेस्रो स्थानमा रहेको छ भने ‘सिंघम अगेन’ र भूल भूलैयाँ ३’ले चार करोडमाथि कमाइ गरेका छन् । यस वर्ष स्वदेशी र विदेशी फिल्मले गरेर नेपालमा साढे दुई सय करोडमाथि कमाएको देखिन्छ । यो अभूतपूर्व उपलब्धि हो ।