मिति : २०८१ चैत्र ३१, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विद्यार्थीको पैसा ठगेर ‘रावायण’मा लगानी !

फिल्मीखबर, काठमाडौं, 2025/04/09

rawayan

 

कहिले सहकारी ठगीको पैसाले फिल्म निर्माण त कहिले विदेशमा छायांकनको नाममा मानव तस्करीको घटना बाहिर आइरहेको समयमा विदेशमा पढ्न पठाइदिने भन्दै विद्यार्थीबाट ठगी गरेको पैसा समेत नेपाली फिल्ममा लगानी भएको खुलेको छ । सुदर्शन थापाको निर्देशनमा बनेको एक्सनप्रधान फिल्म ‘रावायण’मा विद्यार्थीहरूबाट लाखौं रुपैयाँ ठगेर लगानी गरिएको रहस्य खुलेको हो ।

किंग्स पार्क एजुकेसन कन्सल्टेन्सीका सञ्चालक सुसन पाठकले माल्टाको कलेजमा पढ्न पठाइदिने भन्दै लाखौं रुपैयाँ असुलेर ‘रावायण’मा लगानी गरेको पीडित विद्यार्थीहरूले मंगलबार न्यूज २४ टेलिभिजनमा प्रशारित कार्यक्रम ‘सिधा कुरा जनतासँग’मा दाबी गरेका छन् । सुसन उक्त फिल्मका कार्यकारी निर्माता हुन् । उनले फिल्ममा प्रहरीको भूमिकामा अभिनय समेत गरेका छन् ।

सुसनबाट ठगिएका एक व्यक्तिले कार्यक्रममा भनेका छन्, ‘अरुले चलाएको पैसाले अहिले हामी ब्याज तिरिरहनु परेको छ । उसले हाम्रो पैसा कलेजमा पनि तिरेको रहेनछ । म साथीहरुलाई लिएर उसको घरमा गएको थिएँ । उसको बुबासँग कुरा गरेँ । त्यहाँबाट के खुल्न आयो भने उसले सबै रकम ‘रावायण’मा लगाएको रहेछ । उसको बुबाले बोलेको यो कुराको प्रमाण मसँग सुरक्षित नै छ ।’

सुसनले ५ जनासँग ५२ लाख बढी ठगी गरेको कार्यक्रममा जनाइएको छ । पीडित विद्यार्थीहरूले उनलाई औसतमा १० लाख रुपैयाँ तिरेको देखिन्छ । सुसनले रकम बुझाएका विद्यार्थीहरुलाई भने अर्कै कन्सल्टेन्सी (सिभिल्ला एजुकेसन)को नाममा रहेको रसिद दिएका थिए । फिल्म डुबेपछि उनी कन्सल्टेन्सी नै बन्द गरेर ८ महिनादेखि सम्पर्कविहीन रहेको पीडित विद्यार्थीहरूको भनाइ छ ।

पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको ‘रावायण’ ठूलो चर्चाका बाबजुद पनि बक्स अफिसमा असफल भएको थियो । ४ करोडमाथि लगानी भएको फिल्मले निर्मातालाई एक करोड पनि फिर्ता गर्न सकेन । प्राविधिकहरुको १५ लाख बढी पैसा नतिरेको भन्दै निर्माताविरुद्ध प्राविधिक संघमा उजुरी समेत परेको थियो । अझै केहीलाई निर्माताले पैसा तिर्न बाँकी नै रहेको स्रोत बताउँछ ।