दीपक-दीपा समूहबाट अलग भएपछि अभिनेता जितु नेपाल एकपछि अर्को फिल्ममा आबद्ध भइरहेका छन् । यस वर्ष ‘ज्वाइँ साब’ र ‘कार्साङ’मा देखिएका उनले एक महिनाअघि फिल्म ‘परालको आगो’ सम्झौता गरेका थिए । अब उनी अर्को फिल्म ‘कार्की साइँला’मा अनुबन्ध भएका छन् । उनलाई फिल्मको मुख्य भूमिकामा लिइएको निर्देशक राजेन्द्र बस्नेतले बताए ।
कर्ण बहादुर फिल्मसको व्यानरमा निर्माण हुन लागेको फिल्ममा जितुबाहेक अरु कलाकार निश्चित भएका छैनन् । कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा बालकुमार राई र श्याम मगर छन् । फिल्मले ग्रामीण जीवनको कथा भन्नेछ । भुइँमान्छेको कथालाई फिल्ममा प्रस्तुत गरिने निर्देशक बस्नेतले जानकारी दिए ।
फिल्मको मुख्य पात्र एक भरिया हुन् । अर्थात् जितुले भरियाको भूमिका निभाउनेछन् । डम्बर बहादुर राईको छायांकन रहने फिल्ममा उनी स्वयंको कथा छ भने अजित लामिछानेको पटकथा तथा संवाद लेखन छ । फिल्मको छायांकन धनकुटामा गरिनेछ ।