मिति : २०८१ चैत्र ३१, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘के घर के डेरा २’ टिजर : ‘पृथ्वी नै डेरा हो’

फिल्मीखबर, काठमाडौं, 2025/04/11

KE GHAR KE DERAA

 

दीपन्द्र के. खनालको निर्देशनमा तयार भएको फिल्म ‘के घर के डेराः घर नं २’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट ४४ सेकेण्ड लम्बाइको टिजरले कथावस्तु प्रकाश पार्न खोजेको छ । काठमाडौंमा घर हुने र डेरामा बस्ने पात्रहरुको संघर्ष, दुःख, पीडा र वियोगको कथा फिल्मले भन्ने टिजरबाट अनुमान गर्न सकिन्छ । टिजरमा चित्रित हरेक पात्र निराश र पीडामा देखिएका छन् ।

पृथ्वीलाई डेराको रुपमा परिभाषित गरिएको टिजरमा संवादहरु मर्मस्पर्शी छन् । एउटा संवादमा भनिएको छ, ‘भन्छन् मर्नेको सकिन्छ । मलाई लाग्छ, माया नै हो भने त बाँच्नेको पो सकिन्छ ।’ त्यस्तै, अर्को संवाद छ, ‘जसले दुःखको कुरा मुस्कुराएर सुनाउँछ, बुझ्नु मनको घाउ भरिए पनि खत चाहिँ बाँकी छ ।’ यी संवादले फिल्मको कथा गहन रहेको संकेत गर्छ ।

चर्चित उपन्यासकार तथा कवि बुद्धि सागरको लेखन रहेको फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, सञ्जोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायतको अभिनय छ । फिल्मको निर्माताहरुमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् भने कार्यकारी निर्माता युवराज कार्की हुन् ।

यसमा कृष्णबहादुर थापाको छायांकन, नहकुल खड्काको सम्पादन, सञ्जय थापाको द्वन्द्व निर्देशन, केविका खत्रीको कोरियोग्राफी तथा शैलेस श्रेष्ठको ब्याकग्राउन्ड स्कोर छ । एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको संयुक्त प्रस्तुति रहेको यो फिल्म आगामी जेठ २ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यसको अघिल्लो श्रृंखला २०७९ सालमा रिलिज भएको थियो ।