वर्ष २०८१ नेपाली फिल्म क्षेत्रका लागि समग्रमा उत्साहपूर्ण नै रह्यो । शुक्रबार रिलिज भएका दुई फिल्म ‘पिताम्बर’ र ‘कर्मा’लाई छाड्ने हो भने यो वर्ष नेपाली फिल्मले मात्र झन्डै २ अर्बको व्यापार गरेका छन् । सबैभन्दा ठूलो कमाइ ‘पूर्णबहादुरको सारङ्गी’ले गर्यो । ‘१२ गाउँ’, ‘छक्का पञ्जा ५’, ‘बोक्सीको घर’, ‘अञ्जिला’, ‘पूजार सार्की’ जस्ता फिल्मले पनि बक्स अफिसमा राम्रो व्यापार गरे ।
तर, अघिल्ला वर्षझैँ यस वर्ष पनि चल्नेभन्दा डुब्ने फिल्मको संख्या नै उच्च छ । चैत २९ गतेसम्म ६२ वटा फिल्म रिलिज भएकोमा झन्डै ४० वटा फिल्म ‘क्लियर फ्लप’ रहे । त्यसमध्ये केहीले १ लाख पनि कमाउन सकेनन् । यस वर्ष सबैभन्दा कम व्यापार गर्ने फिल्म ‘शीरफूल’ हो । चलचित्र विकास बोर्डको तथ्यांक अनुसार यसले ८९ वटा टिकट बिक्रीबापत १८ हजार ५ सय कमाएको छ ।
दोस्रो कमजोर व्यापार गर्ने फिल्ममा ‘ख्या वाला’ छ, जसको कुल कमाइ २७ हजार ६ सय रुपैयाँ रहेको छ भने तेस्रोमा २१ हजार ६ सय रुपैयाँ ग्रससहित ‘गाले वाना’ छ । यी दुईवटै आदिवासी फिल्म हुन् । त्यस्तै, नाम जुधेकै कारण चर्चामा रहेको ‘एक्टर’ पनि एक लाख नकमाउने फिल्ममा परेको छ । यसको कुल कमाइ ३३ हजार रहेको छ भने पाँचौमा ९२ हजार ग्रससहित फिल्म ‘आँखा’ छ ।
यस वर्ष नाम चलेका कलाकारको फिल्मले समेत निकै निराशाजनक व्यापार गरेका छन् । अभिनेता दयाहाङ राईको ‘राजागञ्ज’ले १६ लाख ग्रस कमाएको छ भने ‘दुःखी आत्मा’को कमाइ ७१ लाख छ । त्यस्तै, सौगात मल्लको ‘बम बहादुर’ले ५ लाख कमाएको छ । पल शाह स्टारर फिल्म ‘मायावी’को व्यापार ७१ लाख ग्रस छ । यसरी हेर्दा यस वर्ष कलाकारहरुको ‘स्टारडम’ नचलेको देखिन्छ ।