मिति : २०८२ वैशाख २, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शुक्रबार र शनिबार कस्तो चले ‘पिताम्बर’ र ‘कर्मा’ ?

फिल्मीखबर, काठमाडौं, 2025/04/13

pitambar and karma

 

यस वर्षका अन्तिम दुई फिल्म ‘पिताम्बर’ र ‘कर्मा’ गत शुक्रबार (चैत २९ गते)बाट प्रदर्शनरत छन् । रिलिजपूर्व यी दुवै फिल्मका प्रचार सामाग्रीले दर्शकमाझ राम्रो ‘हाइप’ बनाएका थिए । र, दुवैमा ‘स्टारकास्ट’ पनि बलियो रहेकाले कम्तिमा ओपनिङ आक्रामक रहने विश्लेषण गरिएको थियो । के दुईवटै फिल्मको ओपनिङ अपेक्षाअनुरुप रह्यो त ? यो धेरैका लागि चासोको विषय बनेको छ ।

चर्चा सुरु ‘पिताम्बर’बाट गरौं । ‘स्टार’ कलाकारहरूको जत्था रहेको फिल्मले रिलिजपूर्व बनाएको ‘हाइप’को आधारमा डेढ करोड हाराहारीको ओपनिङ प्रक्षेपण गरिएको थियो । तर, फिल्मको प्रि-बुकिङ नै उत्साहप्रद देखिएन । देशभर ५/७ वटा शो रिलिजपूर्व हाउसफुलको संघारमा देखिएता पनि धेरैजसो शोका टिकट औंलामा गन्न सकिने अर्थात् सामान्य संख्यामा मात्र बिक्री भएका थिए ।

प्रि-बुकिङ उत्साहप्रद नहुँदा फिल्मको पहिलो दिनको पहिलो शोहरूमा देशभर अकुपेन्सी औसत रह्यो । पहिलो शोबाट दर्शकीय प्रतिक्रिया राम्रो आएपछि भने दिउँसो र साँझपखका शोमा दर्शकको चाप केही बढेको थियो । समग्रमा पहिलो दिन फिल्मको देशव्यापी अकुपेन्सी ४० प्रतिशत हाराहारी रह्यो । यो निराशाजनक नभएता पनि फिल्मको हाइपअनुसार उत्साहजनक पनि होइन ।

शनिबारको विदामा भने फिल्मले देशभर सुखद् व्यापार गरेको छ । बिहानदेखि साँझसम्म फिल्मका करिब २०/२५ वटा शोमा ८० प्रतिशतमाथि अकुपेन्सी रहेको थियो भने देशभर प्राप्त धेरैजसो शोमा ५० प्रतिशत अकुपेन्सी नाघेको थियो । यसअर्थ शनिबारको व्यापारले निर्मातालाई ठूलो राहत दिएको छ । अब फिल्मका लागि आज आइतबारदेखिको अकुपेन्सी सबैभन्दा महत्त्वपूर्ण रहनेछ ।

फिल्म प्रदर्शन भएदेखि यसका मुख्य कलाकारहरूले काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकसँग भेट गरिरहेका छन् । शनिबार केही हलमा फिल्मका अभिनेता प्रदीप खड्कालाई दर्शकले काँधमै बोकेर प्रेम दर्शाएका थिए भने एक युवकले त उनलाई गालामा चुम्बन समेत गरेका थिए । फिल्म हेर्ने धेरैजसोले एक्सन कोरियोग्राफी, मेकिङ तथा ब्याकग्राउन्ड म्यूजिक निकै मन पराएका छन् ।

‘पिताम्बर’को तुलनामा ‘कर्मा’को व्यापार भने शुक्रबार र शनिबार निकै कमजोर देखियो । एक सयभन्दा बढी शो पाएको फिल्मले पहिलो दिन देशव्यापी २० प्रतिशत अकुपेन्सी हासिल गर्‍यो । शनिबारको विदामा पनि फिल्म हेर्ने दर्शकको चाप हलमा अपेक्षित देखिएन । जसले गर्दा देशव्यापी अकुपेन्सी ३०-३५ प्रतिशत रह्यो । आइतबार फिल्मको अकुपेन्सी शुक्रबारभन्दा पनि कमजोर छ ।

‘पिताम्बर’ र ‘कर्मा’ दुवै फिल्मका निर्माता अब नयाँ वर्ष कुरेर बसेका छन् । किनकि, हरेक नयाँ वर्षमा नेपाली फिल्म हेर्न हलमा दर्शकको चाप उत्साहजनक देखिने गरेको छ । यसपटक पनि त्यो दोहोरिएको अवस्थामा दुईवटै फिल्मलाई व्यापारिक रुपमा ठूलो राहत मिल्नेछ । नयाँ वर्ष भोलि सोमबार हो । यसपछि भने दुवै फिल्मको व्यावसायिक भविष्य ‘वर्ड अफ माउथ’ले निर्धारण गर्नेछ ।