मिति : २०८२ वैशाख २, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कोशेढुंगा’ले दर्शक निराश बनाउँदैन : कार्यकारी निर्माता खड्का

फिल्मीखबर, काठमाडौं, 2025/04/13

saroj-poudel-and-dinesh-khadka

 

घरेलु बक्स अफिसमा कीर्तिमानी व्यापार गरेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले यतिबेला नयाँ फिल्म ‘कोशेढुंगा’ बनाइरहेका छन् । कलाकारको बलियो ‘लाइनअप’ रहेको फिल्मलाई लिएर दर्शकमा चासो र अपेक्षा उच्च छ । यसको मुख्य कारण निर्देशक पौडेल नै हुन् । ‘सारङ्गी’ले उनीप्रति अपेक्षा बढाएकाले यो फिल्म उनका लागि निकै ठूलो चुनौती बनेको छ ।

यो फिल्मबाट निर्माणमा होमिएका कार्यकारी निर्माता दिनेश खड्काले ‘कोशेढुंगा’ले दर्शकमा रहेको अपेक्षा पूरा गर्ने दाबी गरेका छन् । फिल्मको कथा र छायांकनमा भइरहेको मिहिनेतले दर्शक निराश नहुनेमा आफू ढुक्क रहेको उनको भनाइ छ । उनले छायांकनमा सोचेभन्दा पनि राम्रो काम भइरहेकाले ‘आउटपुट’ राम्रो निस्कने विश्वास व्यक्त गरे ।

‘हामीले सोचेभन्दा पनि राम्रोसँग छायांकन भइरहेको छ । अहिलेसम्मको काम हेर्दा ‘आउटपुट’ राम्रो आउनेमा हामी ढुक्क छौँ,’ छायांकनका लागि यतिबेला स्याङ्जामा रहेका उनले भने, ‘अनलाइन सम्पादनको काम सेटमै भइरहेको छ, जसमा कलाकार र प्रविधिकको मिहिनेत देख्दा म भन्न सक्छु कि दर्शकलाई केही खास पक्कै हुनेछ ।’

उनी फिल्मले दर्शकलाई पूर्ण सन्तुष्टि दिलाउनेमा विश्वस्त छन् । भन्छन्, ‘दर्शकको अपेक्षालाई बुझेर नै हामीले ‘कोशेढुंगा’मा त्यसअनुसारको मिहिनेत गरिरहेका छौँ । फिल्म हेर्दा दर्शकले सन्तुष्टि महसुस गर्नेछन् ।’ उनका अनुसार फिल्म सामाजिक विषयवस्तुमा आधारित भएर बनेको छ । फिल्मको छायांकन सकिएपछि प्रदर्शन मिति घोषणा गरिने उनले बताए ।

स्याङ्जा जिल्लाको आँधीखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा करिब एक महिनादेखि छायाकंन भइरहेको फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, लोकमणि सापकोटा, हिउँवाला गौतम लगायतको अभिनय छ । प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचिरहेका छन् भने सम्पादन सुरेन्द्र पौडेलले गर्नेछन् ।