अभिनेता पल शाहका लागि वर्ष २०८१ सुखद् रहन सकेन । यस वर्ष रिलिज भएका उनका तीन फिल्ममध्ये ‘रावायण’ र ‘मायावी’ असफल भए । ‘पूजार सार्की’ भने सुपरहिट भयो । तर, यो फिल्म सफल भए पनि श्रेय उनले पाएनन् । किनकि, फिल्ममा प्रदीप खड्का हाबी थिए । र, उनकै अभिनयको बढी चर्चा भयो । यद्यपि, यो फिल्म चल्दा पललाई केही हदसम्म राहत भने मिलेको छ ।
यस वर्ष दुई फिल्म फ्लप भएपछि उनको स्टारडम कमजोर बनेको टिप्पणी भइरहेको छ । तर, उनी आफ्नो फ्लप फिल्मको पनि ‘इनिसियल’ व्यापार राम्रो रहेको दाबी गर्छन् । हालै एक अवार्ड कार्यक्रममा सहभागी हुने क्रममा उनले सञ्चारकर्मीसँग भने, ‘मेरो फिल्महरू ‘इनिसियल’ राम्रो भएका छन् । बक्स अफिस रिपोर्ट हेर्ने हो भने मेरो फ्लप फिल्मको पनि दुई दिनको व्यापार राम्रो छ ।’
दुई दिनपछि कुनै पनि फिल्म कलाकारले नभइ कन्टेन्ट राम्रो भए चल्ने उनको तर्क छ । भन्छन्, ‘दुई दिनपछि त बक्स अफिस रिपोर्ट राम्रो हुनलाई फिल्म आफैंमा राम्रो हुनुपर्छ । सायद ती फिल्महरुले दर्शकलाई ‘कनेक्ट’ गर्न सकेन होला । आगामी दिनमा ‘कनेक्ट’ हुने फिल्ममा काम गर्नेछु ।’ उनले फिल्ममा धेरै व्यक्ति जोडिने भएकाले पनि कहिले राम्रो त कहिले बिग्रिने गरेको बताए ।
‘फिल्म बन्नमा एकजनाको मात्र हात हुँदैन । ५०/६० जना त्यसमा संलग्न भएका हुन्छन् । अनि सबैको आ-आफ्नो कन्सेप्ट हुन्छ,’ उनी भन्छन्, ‘सयवटा हात मिल्दा कहिले काहीँ राम्रो काम पनि बिग्रिन सक्छ अनि कहिले काहीँ नराम्रो चिज पनि राम्रो हुनसक्छ । म्यूजिक भिडियोमा भने सीमित व्यक्ति मात्र संलग्न हुने भएकाले लगभग ‘स्योर’ राम्रो हुन्छ । तर, फिल्ममा त्यो कुरा भन्न सकिँदैन ।’
निर्देशकले कलाकारको कुरा नसन्दा पनि फिल्म नचल्ने गरेको उनको भनाइ छ । ‘कहिले काहीँ कलाकारको कुरा नसुन्दा पनि फिल्म चल्दैन,’ उनी अगाडि भन्छन्, ‘निर्देशकलाई यो गीत राम्रो छैन अर्को राखौं भन्दा नसुन्ने बानी छ । त्यसले गर्दा फिल्मको पब्लिसिटी पुग्दैन । अहिले फिल्मको प्रचार हुन गीतसंगीत अनिवार्य चल्नैपर्छ । गीतसंगीत नचल्दा फिल्म समेत नचलिदिन सक्छ ।’