‘झ्यानाकुटी’ जोडी सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘सिटामोल’ आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने भएको छ । सोमबार नयाँ वर्षको अवसरमा एक पोस्टर सार्वजनिक गर्दै निर्माताले फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । उक्त मितिमा अभिनेता पल शाह अभिनीत फिल्म ‘मोहर’ पनि प्रदर्शनमा आउने तयारीमा छ ।
सार्वजनिक पोस्टरमा सौगात र बेनिशा चित्रित छन् । बैसाखी टेकेका सौगातले हातमा कुखुराको भाले बोकेका छन् भने बेनिशाले काखमा बच्चा च्यापेकी छन् । यसबाट फिल्ममा उनीहरु श्रीमान्-श्रीमतीको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । फिल्ममा सौगात जनयुद्धको घाइतेको भूमिकामा छन् ।
राजबहादुर सानेको निर्देशनमा तयार भएको फिल्ममा लोकेन्द्र लेखक, हिउँवाला गौतम, भुगोल कार्की, पवन भट्टराई, समिप निरौला, जानुका विश्वकर्मा, काजल भुजेल, दिनेश रेग्मी लगायतको पनि अभिनय छ । तुलसी फिल्म्सले जुनतारा फिल्मससँग निर्माणमा सहकार्य गरेको फिल्ममा निर्देशक साने र प्रदीप भारद्वाजको लेखन छ ।
भूगोल कुमार कार्की र विकासराज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता रहेको फिल्ममा गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् । यसमा दिव्यराज सुवेदीको छायांकन, बन्दे प्रसादको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी तथा देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन छ । यो फिल्म माओवादी जनयुद्धको पृष्ठभूमिमा आधारित छ ।