अशोक शर्माको निर्देशनमा बन्न लागेको फिल्म ‘डबल ट्रिपल’को गत महिना निर्माण घोषणा गर्दै दशैंको फूलपातीलाई प्रदर्शन मिति तय गरिएको थियो । तर, फूलपातीमा धेरै फिल्म आउने भएपछि निर्देशक शर्माले प्रदर्शन मिति हेरफेर गरेका छन् । अब उनको फिल्म भ्यालेनटाइन डेको अवसर पारेर आगामी फागुन १ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
आइतबार साँझ फेसबुकमा एक पोस्ट लेख्दै निर्देशक शर्माले दशैंमा कम फिल्म ल्याउन निर्माताहरुसँग सहमतिको प्रयास गरेको भए पनि कोही टसमस नभएपछि आफ्नै फिल्मको रिलिजलाई पछाडि धकेलेको बताएका छन् । उनले दशैंमा रिलिज हुने ‘जारी २’देखि ‘बलिदान’सम्मलाई शुभकामना पनि दिएका छन् । यसपालिको दशैंमा आधा दर्जन बढी फिल्म रिलिजको तयारीमा छ ।
‘डबल ट्रिपल’मा दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजाराम पौडेल, उदय सुब्बा, विल्सन विक्रम राई, माओत्से गुरुङ, बुद्धि तामाङ, रामप्रसाद खनाल, सुरवीर पण्डित लगायतको अभिनय रहनेछ । निर्देशक शर्मा र राजेश सिटौलाको कथा तथा पटकथा रहेको फिल्ममा शान बस्न्यातको संवाद छ ।
किरण शर्मा पौड्याल, कृति शर्मा र अंकित शर्माको लगानी रहने फिल्ममा मनोज पण्डितले ‘स्क्रिप्ट डक्टरिङ’ गरेका छन् भने शम्भुजित बाँस्कोटाको संगीत, आलोक शुक्लाको छायांकन, राजु किराँतीको द्वन्द्व निर्देशन र सुनिल क्षेत्रीको नृत्य निर्देशन रहनेछ ।