मिति : २०८२ वैशाख ३, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ऊनको स्वीटर’को ‘काफ्ले’ गीतमा विपिन र मिरुनाको प्रेम

फिल्मीखबर, काठमाडौं, 2025/04/15

The Woolen Sweater

 

आगामी बैशाख २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ऊनको स्वीटर’को ‘काफ्ले’ बोलको गीत सार्वजनिक गरिएको छ । मङ्गलवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गीतमा युवराज काफ्लेको शब्द रचना, झुमा लिम्बुको सङ्गीत तथा झुमा र सुजन चापागाईँको युगल गायन रहेको छ । कार्यक्रममा झुमा र सुजनले प्रत्यक्ष प्रस्तुति समेत दिएका थिए ।

पाँचथर आसपासका सुन्दर प्राकृतिक दृश्य समेटिएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी विपिन कार्की र मिरुना मगर चित्रित छन् । गीतमा उनीहरुको प्रेमभावलाई देखाउन खोजिएको छ । फिल्ममा उनीहरुबीच भर्खर प्रेम अंकुराएको समयमा गीतलाई बुनिएको देखिन्छ । रैथाने भाकाको स्वादमा रहेको गीत कर्णप्रिय छ ।

गीत सार्वजनिक कार्यक्रममा फिल्मका निर्देशक नवीन चौहानले ‘काफ्ले’ शब्द केवल गीतको शीर्षक नभई समाजको एउटा प्रतिबिम्ब भएको बताए । उनले भने, ‘फिल्म ‘रियलिस्टिक अप्रोच’बाट बनाइएको भएकाले यो गीतलाई पनि हामीले यथार्थपरक शैलीमा प्रस्तुत गरेका हौँ ।’ उनका अनुसार फिल्ममा विपिनले ‘धरणीधर काफ्ले’को भूमिका निर्वाह गरेका छन् ।

आर्टमाण्डूको निर्माण रहेको फिल्ममा विपिन र मिरुनासहित विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, भावना खपाङ्गी मगर लगायतको अभिनय रहेको छ । फिल्मको स्क्रिप्ट निर्देशक चौहान र सुरज कटुवालले मिलेर लेखेका हुन् । यसअघि सार्वजनिक फिल्मको ‘मखमली’ बोलको गीत दर्शकमाझ लोकप्रिय भइसकेको छ ।