मिति : २०८२ वैशाख ३, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एक्लो’का निर्देशक शाही ‘कान्स प्रोड्युसर्स नेटवर्क’का लागि चयन

फिल्मीखबर, काठमाडौं, 2025/04/16

Pradeep Shahi

 

आगामी मे १३ देखि २१ तारिखसम्म हुन लागेको विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभल अन्तर्गतको ‘प्रोड्युसर्स नेटवर्क’का लागि निर्देशक तथा निर्माता प्रदीप शाही चयन भएका छन् । कान्सले विश्वभरका निर्माताहरुलाई अन्तर्राष्ट्रिय नेटवर्क निर्माण गर्न सन् २००३ बाट यो कार्यक्रम सुरु गरेको थियो । यसमा वर्षेनि संसारभरबाट ४ सयभन्दा धेरै फिल्म निर्माताहरुले भाग लिने गरेका छन् ।

‘प्रोड्युसर्स नेटवर्क’मा चयन भएसँगै अब निर्देशक शाहीले आफ्नो नयाँ साइ-फाइ फिल्म ‘एक्लो’लाई कान्सको फिल्म मार्केटमा प्रस्तुत गर्नेछन् । उनले ‘कान्स प्रोड्युसर्स नेटवर्क’मा भाग लिन पाउनु आफ्नो लागि ठूलो सम्मान रहेको बताएका छन् । भन्छन्, ‘यो केवल फिल्म प्रस्तुत गर्ने कुरा होइन, नेपाललाई विश्वसामु चिनाउने प्रयास पनि हो ।’

यसअघि ‘गोर्खा : बिनिथ द ब्रेभरी’, ‘अन्तिम संस्कार’ जस्ता फिल्म निर्देशन गरिसकेका शाहीले बेलायतमा फिल्म मेकिङ सम्बन्धी अध्ययन गरेका हुन् । त्यहाँ केही सर्ट फिल्म र सिरिजमा काम गरेपछि उनी नेपाली फिल्म निर्देशनमा होमिएका थिए । ‘एक्लो’ उनको महत्त्वाकांक्षी फिल्म हो । उनले यो फिल्म अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने उद्देश्यले निर्माण गरेका हुन् ।

हाल लण्डनमा पोस्ट प्रोडक्सनको काम भइरहेको फिल्ममा प्रदीप खड्का, बेनिशा हमाल, विजय लामा, सुनील थापा, दीया पुन, दिनेश डिसी, सुरज सिंह ठकुरी, त्रुचु राई, दिग्गज खत्री, बेलायती अभिनेता जेमी बेकन लगायतको अभिनय छ । हिमालयको आध्यात्मिकता र मिथकीय पृष्ठभूमिमा आधारित भएर बनेको फिल्मलाई यस वर्षको अन्त्यसम्ममा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।