मिति : २०८२ वैशाख ३, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘भूठान’ ट्रेलरमा हरिवंश आचार्यको चुम्बन दृश्य

फिल्मीखबर, काठमाडौं, 2025/04/16

Hari Bansha Acharya, Dayahang Rai

 

यही बैशाख १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘भूठान : घर हराएको मान्छे’को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तुबारे महत्त्वपूर्ण खुलासा गर्छ । तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका पुगेका भुटानी शरणार्थीको कथा ट्रेलरमा छ । एक पात्रले आफ्नो देश भुटान फर्किन गरेको प्रयासलाई ट्रेलरमा मर्मस्पर्शी रुपमा देखाइएको छ ।

ट्रेलर हेर्दा फिल्मका प्रमुख पात्रले दुई अलग धर्म अपनाएको देखिन्छ । जसले गर्दा मृत्युपछाडि हुने संस्कारलाई लिएर अन्योल र टसलको स्थिति देखिएको छ । अभिनेता हरिवंश आचार्यको वरिपरि केन्द्रित रहेको ट्रेलरमा उनको चुम्बन दृश्य समेत समावेश छ, जसले दर्शकलाई आश्चर्यमा पार्न सक्छ । उनले आफ्नो करिअरमा यसप्रकारको दृश्य पहिलो पटक दिएका हुन् ।

अंग्रेजीमा ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ नाम राखिएको फिल्मलाई विनोद पौडेलले निर्देशन गरेका हुन् । यसअघि उनले ‘बुलबुल’ निर्देशन गरेका थिए । यसमा हरिवंशसहित दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द (लामा), रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी, हलिउड अभिनेता ब्रुस डर्न लगायतको अभिनय छ ।

‘भूठान’का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् भने कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ छन् । सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा अन्जय खड्काको सम्पादन, समवरण केमको संगीत, सूर्य शाहीको कास्टिङ र बलिउडका अन्जन गजुरेलको कला निर्देशन छ ।