वर्ष २०८२ सुरु भएसँगै नयाँ फिल्म घोषणाको लहर नै चलेको छ । नयाँ वर्षको पहिलो दिन अर्थात् बैशाख १ गते मात्र करिब आधा दर्जन नयाँ फिल्म घोषणा भए । बुधबार अर्को एक फिल्मको निर्माण घोषणा गरिएको छ । त्यो फिल्म हो, ‘मैना’ । चन्द्र कुमार भट्टराईको निर्देशनमा बन्न लागेको यो फिल्म क्राइम-थ्रिलर जनरामा निर्माण हुनेछ ।
राजेन्द्र ढकाल (राहुल) र विनिता शर्माको लगानी रहने फिल्मको कथा गोविन्द मल्लले लेखेका छन् । सुस्मिता फिल्म्सको प्रस्तुतिमा बन्न लागेको फिल्मको सह-निर्माता रेनु शर्मा र सुष्मा खतिवडा हुन् ।
आगामी भदौबाट छायांकन सुरु हुन लागेको फिल्ममा को-को कलाकार रहनेछन् भन्ने खुलाइएको छैन । यद्यपि, फिल्मको नाम अनुसार मुख्य भूमिकामा महिला कलाकार रहने अनुमान गर्न सकिन्छ । ‘मैना’ एक पंक्षीको नाम हो, जसलाई रुपी पनि भनिन्छ ।