अभिनेत्री अरुणिमा लम्सालको दोस्रो विवाह पनि संकटमा परेको छ । गत भदौ ३ गते धरानका युवराज श्रेष्ठसँग विवाह गरेकी उनले एक वर्ष पनि नपुग्दै श्रीमानविरुद्ध अदालतमा सम्बन्धविच्छेदको मुद्धा हालेकी छन् । उनी अमेरिकी नागरिक भइसकेका कारण वारेसमार्फत् केही दिनअघि मुद्धा दर्ता गरेको जनाइएको छ । उनी डिभोर्स मुद्धा दर्ता गरेर मंगलबार अमेरिका फर्किसकेकी छन् ।
उनी गत साता आमाको साथमा नेपाल आएकी थिइन् । उनी नेपाल आउनुको पछाडि दुईवटा कारण थियो । पहिलो, श्रीमानविरुद्ध अदालतमा सम्बन्धविच्छेदको मुद्धा हाल्नु । दोस्रो, आफूले अभिनय गरेको वेब सिरिज ‘घर बट इन अमेरिका’को प्रचार गर्नु । यो वेब सिरिजको मिडियामा प्रचार गर्ने क्रममा उनले श्रीमानविरुद्ध अदालतमा डिभोर्सको मुद्धा हालिसकेको जानकारी गराएकी हुन् ।
युवराजले आफूलाई धेरै कुरा ढाँटेको उनको आरोप छ । अरुणिमाले एक अन्तर्वार्तामा भनेकी छन्, ‘उहाँले ढाँट्नुको कारण मसँग विवाह गरेर अमेरिका जानु थियो । विवाह गर्दा उहाँले झुटो बोल्नु भएको छ भन्ने मलाई थाहा भएन । पछि धेरै कुरा झुटो बोलेको थाहा पाएँ । झुटो मान्छेसँग त कसरी जीवन विताउने ? विवाहअघि मैले उहाँको बारेमा बुझ्ने प्रयास गरिनँ । त्यही मेरो गल्ती भयो ।’
युवराजलाई चिन्न आफूबाट गल्ती भएकाले फेरि सँगै बसेर अर्को गल्ती गर्न नचाहेको उनको भनाइ छ । ‘म झुटो मान्छेसँग जीवन विताउन सक्दिनँ भनेर नै मुद्धा दायर गरेको हुँ । उहाँले त डिभोर्स दिन चाहनुभएको छैन । तर, म झुटो मान्छेसँग बस्न सक्दिनँ,’ उनले भनेकी छन् । आफूले सम्बन्धविच्छेदको मुद्धा दायर गरिसकेकाले युवराज पूर्वपति भइसकेको पनि लम्सालले बताएकी छन् ।
उनले विवाह भएको करिब ६ महिनामै सामाजिक सञ्जालबाट श्रीमानसँगका सबै तस्वीरहरू हटाएर सम्बन्ध संकटमा रहेको संकेत गरेकी थिइन् । युवराजअघि उनको विवाह अमित अर्यालसँग भएको थियो । २०७४ सालमा उनीहरु कानुनी रुपमा अलग भएका थिए । दुवैका एक छोरी छिन्, अक्षता । अरुणिमा एक दशकदेखि आमाबुबा र छोरीको साथमा अमेरिकामा बस्दै आइरहेकी छन् ।