एउटा फिल्मको सफलताले मात्रै पनि कलाकारको करिअरलाई कुन हदसम्म उठाउँछ भन्ने कुराको ज्वलन्त उदाहरण हुन्, बेनिशा हमाल । उनले डेढ दशक लामो करिअरमा पहिलो हिट फिल्मको रुपमा ‘छक्का पञ्जा ४’ पाएकी थिइन् । यसपछि उनको करिअर नै चम्किएको छ । यतिबेला उनको हातमा लगातार फिल्म परिरहेको छ । र, उनले पनि श्रृंखलाबद्ध रूपमा काम गरिरहेकी छन् ।
‘छक्का पञ्जा ४’पछि उनले ‘हात्तीछाप’ र ‘उपहार’सहित एक हिन्दी फिल्ममा काम गरिन् । गत वर्ष ‘एक्लो’ र ‘मोहर’को छायांकन सकाइन् । यतिबेला ‘कल्ली’मा काम गरिरहेकी छिन् । यस वर्ष उनका यी तीन फिल्मसहित ‘सिटामोल’ पनि प्रदर्शन हुँदैछ । पहिलो पटक उनको एकै वर्षमा चार फिल्म प्रदर्शनमा आउन लागेका हुन् । यसले पनि फिल्ममा बेनिशाको बढ्दो व्यस्ततालाई दर्शाउँछ ।
अब उनले यस वर्षका लागि फिल्मको ‘लाइनअप’ तयार बनाउँदै गइरहेकी छन् । २०८२ का लागि उनले पहिलो फिल्मको रुपमा ‘बिगुल’ सम्झौता गरेकी छन् । उनीसँग यसै साता फिल्मका निर्माताले लिखित सम्झौता गरेकी हुन् । फिल्ममा उनको जोडी अभिनेता नरेन खड्कासँग बाँधिनेछ । यो उनीहरूको पहिलो सहकार्य हुनेछ । फिल्मलाई भने रमेश कोइरालाले निर्देशन गर्नेछन् ।
बेनिशाको पाइपलाइनमा ‘बिगुल’सहित अर्को एउटा फिल्म पनि रहेको जानकारी प्राप्त छ । र, यस वर्ष रिलिज हुने चार फिल्ममध्ये कुनै एउटा मात्रै पनि सफल भए उनको ‘डिमान्ड’ फेरि चुलिने निश्चित छ । अभिनयमा त उनले आफूलाई प्रमाणित गरिसकेका छन् । अब उनी फिल्म छनोट भने गम्भीर हुन जरूरी देखिन्छ । नभए ‘छक्का पञ्जा ४’ले उठाएको करिअर फेरि संकटमा पर्न सक्नेछ ।