सन् १९८५ मा निर्माण भएको ‘के घर के डेरा’ले नेपाली फिल्मको एउटा कालखण्डको प्रतिनिधित्व गर्छ, जुनबेला रिलबाट फिल्म खिचिन्थ्यो । यसको ३७ वर्षपछि अर्थात् २०७९ सालमा दोस्रो पटक सोही नाममा अर्को फिल्म बन्यो । अब यसको दोस्रो श्रृंखला ‘के घर के डेरा : घर नं २’ आगामी जेठ २ गतेबाट प्रदर्शनमा आउँदैछ । एक साताअघि फिल्मको टिजर सार्वजनिक भइसकेको छ ।
टिजर हेर्दा यो फिल्म तीन वर्षअघि प्रदर्शन भएको ‘के घर के डेरा’को सिक्वेल लाग्दैन । किनकि, कथा अलग देखिन्छ । र, अघिल्लो श्रृंखलाका कुनै कलाकार दोहोरिएका छैनन् । दोहोरिएका भनेका निर्देशक र निर्माता मात्र हुन् । तर, फिल्मको नामले भने सिक्वेल रहेको जनाउँछ । आखिर यो फिल्म सिक्वेल हो वा सिरिज ? यसबारे दर्शकमा पनि जिज्ञासा देखिन्छ ।
निर्देशक दीपेन्द्र के. खनालले ‘के घर के डेरा २’ सिक्वेल नभएको स्पष्ट पारेका छन् । उनी भन्छन्, ‘यो ‘के घर के डेरा’को सिक्वेल होइन । घर र डेराको कुरा चाहिँ फिल्ममा छ । तर, यो विल्कुलै नयाँ फिल्म हो । र, नयाँ कथा हो ।’ उनका अनुसार ‘के घर के डेरा’ कमेडीमा आधारित थियो भने ‘घर नं २’मा सामाजिक कथा छ ।
यसअघि ‘पशुपति प्रसाद’, ‘आमा’ जस्ता सम्झनलायक फिल्म निर्देशन गरिसकेका उनी ‘के घर के डेरा २’लाई आफ्नो पहिचान झल्कने फिल्मको रुपमा अर्थ्याउँछन् । भन्छन्, ‘यसमा मेरो ओरिजिनल फ्लेवर आएको छ भन्ने लाग्छ । म जसरी आफूलाई बनाउन मन लागेको सोसल ड्रामा भन्दै आएको थिएँ, त्यो फिल्म यो हो । यसबाट म आफ्नो जनराको फिल्ममा फर्किएको छु ।’
साहित्यकार बुद्धिसागरको लेखन रहेको फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतले अभिनय गरेका छन् । कृष्णबहादुर थापाको छायांकन रहेको फिल्मको निर्माताहरुमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माता युवराज कार्की हुन् ।