पछिल्लो समय पुराना कालजयी गीतलाई पुनः रेकर्ड गरेर फिल्ममा समावेश गर्ने ट्रेन्ड फस्टाएको छ । मेकरहरुलाई लाग्छ, पुरानो गीतको सहारा लिए फिल्मको राम्रो प्रचार हुन्छ । यसैले एकपछि अर्को गर्दै पुराना गीतहरु नयाँ भर्सनमा आइरहेका छन् । तर, प्रायः गीतले तालीभन्दा गाली नै ज्यादा पाएका छन् । पुरानो गीतमा जस्तो मीठास दर्शकले नयाँ भर्सनमा पाउन नसकेको देखिन्छ ।
यसैबीच, फिल्म ‘दैव संजोग’को लोकप्रिय गीत ‘अच्छा लेकिन लण्डनको’लाई पनि पुनः रेकर्ड गरेर फिल्म ‘नरसिंहा’मा समावेश गरिएको छ । उक्त गीत तीन दिनअघि सार्वजनिक भइसकेको छ । युट्युबमा ११ लाख बढी भ्यूज पाइसकेको गीतलाई मिश्रित प्रतिक्रिया मिलेको छ । कतिले गीत नविगारेकोमा खुसी व्यक्त गरेका छन् भने कतिले पुरानै गीतमा मीठास रहेको जनाएका छन् ।
गीतलाई लिएर एक युट्युब प्रयोगकर्ता कमेन्टमा लेख्छन्, ‘गीत त पहिलेको नै राम्रो । आवाज पनि पहिलाकै पावरफुल लाग्छ । तर पनि शुभकामना ।’ अर्का एक प्रयोगकर्ताले यस्ता कालजयी गीत रिमेक नगर्न अनुरोध गरेका छन् । त्यस्तै, एक प्रयोगकर्ताले पुरानो र नयाँको तुलना गर्दा दुईटै राम्रो रहेको प्रतिक्रिया जनाएका छन् । कतिपयले गायिका रचना रिमालको स्वरको प्रशंसा गरेका छन् ।
यो समाचार तयार पार्दासम्म युट्युब ट्रेन्डिङको म्यूजिक सेक्सनतर्फ पाँच नम्बरमा रहेको गीतमा सयौंको संख्यामा टिकटक र रिल्स बनिसकेका छन् । यसले गीतलाई थप लोकप्रिय बनाइरहेको छ । शम्भुजित बाँस्कोटा र रचना रिमालको स्वर रहेको गीतमा शम्भुजित स्वयंको शब्द तथा संगीत छ । भिडियोमा भने फिल्मका कलाकारहरु राजेश हमाल, नीति शाह लगायत देखिएका छन् ।
दीवाकर भट्टराईको निर्देशनमा बनेको फिल्ममा हमाल र नीतिसहित राज कटुवाल, सनिशा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी लगायतको अभिनय छ । चन्द्र पन्तको कथा रहेको फिल्ममा राजु तामाङको द्वन्द्व निर्देशन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी र राजु विक्रम थापाको डीओपी रहेको छ । यो फिल्म आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउँदैछ ।