गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ५’को सफलतापछि अभिनेत्री वर्षा सिवाकोटी एकपछि अर्को फिल्ममा आबद्ध भइरहेकी छन् । यतिबेला फिल्म ‘माग्ने राजा’को छायांकनमा व्यस्त रहेकी उनले आफ्नो ‘लाइनअप’मा अर्को एक फिल्म थपेकी छन् । उनले यसै साता फिल्म ‘कार्की साइँला’ सम्झौता गरेकी हुन् ।
फिल्ममा यसअघि नै मुख्य भूमिकामा अभिनेता जितु नेपाल अनुबन्ध भइसकेका छन् । उनको जोडीको रुपमा वर्षा भित्रिएकी हुन् । फिल्ममा उनीहरुको यो पहिलो सहकार्य हुनेछ । निर्देशक राजेन्द्र बस्नेतले फिल्मका लागि बाँकी कलाकार केही दिनमा छनोट गरेर छायांकन सुरु गरिने जानकारी दिए ।
कर्ण बहादुर फिल्म्सको व्यानरमा निर्माण हुन लागेको फिल्मको प्रस्तुतकर्तामा कृष्ण भगत चाम्लिङ छन् भने निर्माता बालकुमार राई हुन् । कार्यकारी निर्मातामा राजु श्रेष्ठ छन् । फिल्मले ग्रामीण जीवनको कथा भन्नेछ । भुइँमान्छेको कथालाई फिल्ममा प्रस्तुत गरिने जनाइएको छ । फिल्ममा जितुले भरिया (भारी बोक्ने व्यक्ति)को भूमिकामा अभिनय गर्नेछन् ।
डम्बर बहादुर राईको छायांकन रहने फिल्ममा उनी स्वयंको कथा छ भने अजित लामिछानेको पटकथा तथा संवाद लेखन छ । यसमा जीवननाथ गौतमको गीत समावेश हुनेछ । फिल्मको छायांकन कोशी अञ्चलमा पर्ने पहाडी जिल्ला धनकुटामा गरिनेछ ।