केही वर्षअघिसम्म एक सय करोडको आँकडालाई बलिउडमा फिल्म सफलताको मानक मानिन्थ्यो । वर्षमा एकाध फिल्मले मात्र यो आँकडा पार गर्थे । तर, अहिले त्यही सय करोड पनि सामान्य बनेको छ । किनकि, बलिउड फिल्महरुले ५/६ सय करोडसम्म कमाउन थालेका छन् । र, यो नै फिल्म सफलताको नयाँ मानक बनेको छ । अब बलिउड एक हजार करोड कमाउने लक्ष्यमा छ ।
सन् २०२४ सम्म ६ सय करोडमाथि कमाइ गर्ने भारतीय फिल्म जम्मा दुईवटा थिए । त्यसमा एउटा दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ थियो । यसले हिन्दी भर्सनमा ८ सय करोडमाथि कमाएको थियो । र, अर्को बलिउड फिल्म ‘स्त्री २’ थियो । यसको व्यापार ६२७ करोडमाथि छ । अब बलिउडले ६ सय करोड कमाउने दोस्रो फिल्म पाएको छ । त्यो हो, विक्की कौशल अभिनीत फिल्म ‘छावा’ ।
यो फिल्मले १०औं हप्तामा ६ सय करोडको आँकडा नघाउन सफल भएको हो । फिल्मको कुल व्यापार ६ सय १० करोड भारु नेट पुगेको छ । योसँगै ‘छावा’ले उक्त आँकडा पार गर्ने पहिलो ‘नन् सिक्वेल’ भारतीय फिल्मको इतिहास रचेको छ भने ‘पुष्पा २’ र ‘स्त्री २’पछि उच्च कमाइ गर्ने तेस्रो भारतीय फिल्म बनेको छ । ‘छावा’को यो अभूतपूर्व सफलताले बलिउडलाई नै आश्चर्यमा पारेको छ ।
३६८.८५ प्रतिशत नाफा कमाएको यो फिल्ममा विक्कीसहित अक्षय खन्ना, रश्मिका मन्दाना, आशुतोष राणा, विनीत कुमार सिंह, येसुबाई भोन्सले, दिव्या दत्ता, प्रदीप रावत लगायतको अभिनय छ । छत्रपति सम्भाजी महाराजको जीवनमा आधारित भएर बनेको ‘छावा’लाई लक्ष्मण उतेकरले निर्देशन गरेका हुन् । फिल्ममा विक्कीले छत्रपति महाराजको भूमिकामा जीवन्त अभिनय गरेका छन् ।