मिति : २०८२ वैशाख ९, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जार’ले नेपाली फिल्मलाई नयाँ उचाइ दिन्छ : निर्देशक लामा

फिल्मीखबर, काठमाडौं, 2025/04/22

jaar movie

 

भारतीय नेपाली भाषी साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्म ‘जार’ यही बैशाख २६ गतेबाट प्रदर्शनको तयारीमा छ । जार संस्कृतिमा आधारित भएर बनेको फिल्ममा सौगात मल्ल, अनुप विक्रम शाही र गीताञ्जली थापा (भारतीय अभिनेत्री)ले मुख्य भूमिकामा अभिनय गरेका छन् । करिब दुई हप्ताअघि सार्वजनिक ट्रेलरले फिल्मको दृश्यभाषा बलियो रहेको संकेत गर्छ ।

यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका फूर्वा छिरिङ लामाले ‘जार’ले नेपाली फिल्म क्षेत्रलाई नयाँ उचाइ दिलाउने दाबी गरेका छन् । भन्छन्, ‘यो फिल्म रिलिजपछि नेपाली फिल्म उद्योग एक खुड्किलो माथि उक्लिने विश्वास लिएको छु । यसमा हामीले नेपाली समाजले भोगेको विषय उठाएका छौँ । त्यसैले यसलाई म हरेक समाजको कथा भन्न रुचाउँछु ।’

उनी फिल्ममा कथाले मागेको पात्रको आधारमा कलाकार छनोट गरेको बताउँछन् । उनी भन्छन्, ‘बजारमा को कलाकार कस्तो छ भन्दा पनि कथाले कस्तो पात्र माग्छ त्यसका आधारमा कलाकार छनोट गरेका छौं । र, हरेक कलाकारले कठोर मिहिनेत गरेका छन् ।’ सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनालाई फिल्ममा समेटिएको उनको भनाइ छ ।

निर्देशक लामाले इन्द्रबहादुर राईको कथामा सिनेम्याटिक लिबर्टी लिएर फिल्म बनाएको पनि स्पष्ट पारे । ‘इन्द्रबहादुर राईको कथामा हामीले सिनेम्याटिक लिबर्टी लिएर काम गरेका छौँ । त्यसैले कथा जति राम्रो छ, त्योभन्दा भिजुअल ल्यांग्वेज दर्शकलाई थप बलियो लाग्नेछ,’  उनले भने । यो फिल्म मात्रै नभएर नेपाली समाजको दस्तावेज पनि भएको उनी बताउँछन् ।

साहित्यकार राईले सन् १८०० को दशकमा नेपाली समाजमा घटेको एउटा यथार्थ घटनामा आधारित रहेर ‘जार: भएकै एउटा कथा’ लेखेका थिए । यो कथा सन् १९६१ मा प्रकाशित राईको ‘विपना कतिपय’ संग्रहमा संकलित छ । यो कथामा आधारित भएर मण्डला थिएटरमा २०७१ सालमा नाटक समेत मञ्चन भएको थियो । यसमा एक महिलाले श्रीमान् वा प्रेमी कुन रोज्ने भन्ने दोधारको कथा छ ।