आगामी बैशाख २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ऊनको स्वीटर’को प्रचारलाई अझ प्रभावकारी बनाउन सांगीतिक कार्यक्रम आयोजना गरिने भएको छ । देशका दुई ठूला सहर पोखरा र धरानमा चर्चित गायक सुजन चापागाईँले सांगीतिक प्रस्तुति दिन लागेका हुन् । ‘ऊनको स्वीटर साँझ’ शीर्षकको कार्यक्रममा सुजनले फिल्ममा समावेश गीतहरुमा प्रस्तुति दिने जनाइएको छ ।
पोखराको लेकसाइडस्थित हल्लन चोकमा शुक्रबार (आज) अपराह्न ४ बजेबाट सुरु हुने कार्यक्रममा गुरुङ समूहले ‘मखमली’ गीतमा र फिल्मका मुख्य कलाकारहरू एलेक्स पारस र परीक्षा लिम्बुले ‘काफ्ले’ गीतमा नृत्य प्रस्तुति दिनेछन् भने सुजन चापागाईँले ‘फूल’ गीत गाउनेछन् । झलकमान गन्धर्वको जन्म जयन्तीको अवसर पारेर सुजनले झलकमानका कालजयी गीतमार्फत श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम पनि राखिएको छ ।
त्यसैगरी, धरानको रङ्गशालामा बैशाख १८ गते साँझ ५ बजे आयोजना हुने कार्यक्रमलाई सुजनको ‘द इन्फिनिटी ब्यान्ड’ले साथ दिनेछ । कार्यक्रममा ‘काफ्ले’ गीतकी गायिका झुमा लिम्बु र चर्चित गायिका सुनिता थेगिमको पनि विशेष प्रस्तुति रहनेछ । पोखरा र धरानको कार्यक्रमले फिल्मको प्रचारमा ठूलो सघाउ पुग्ने विश्वास निर्माण टिमको छ ।
आर्टमाण्डूको निर्माण रहेको फिल्मलाई नवीन चौहानले निर्देशन गरेका हुन् । यसमा विपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु लगायतको अभिनय छ । फिल्मको स्क्रिप्ट निर्देशक चौहान र सुरज कटुवालले मिलेर लेखेका हुन् । फिल्मको ट्रेलर बैशाख १६ गते सार्वजनिक गर्ने तयारीमा निमार्ण टिम छ ।