म्यूजिक भिडियोबाट उदाएका कलाकारहरूको फिल्ममा आगमन बढिरहेको समयमा अब पालो मोडल उषा उप्रेतीको आएको छ । उनले फिल्ममा डेब्यु गर्ने भएकी छन् । अभिनेता निखिल उप्रेतीको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘आचार्य’बाट उनको डेब्यु पक्का भएको हो । उनले शुक्रबार निखिलसँगको एक तस्वीर फेसबुकमा सेअर गर्दै नयाँ यात्रा थालनी भएको उल्लेख गरेकी छन् ।
उनी फिल्ममा कसको जोडी बनेर देखिनेछिन् भन्ने खुलिसकेको छैन । पहिलो फिल्मलाई लिएर निकै उत्साहित देखिएकी उनलाई यतिबेला सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ । दर्जनौं म्यूजिक भिडियोमा अभिनय गरिसकेकी उनलाई यसअघि पनि केही फिल्मबाट प्रस्ताव पुगेको थियो । तर, डेब्युका लागि हतार नगरेकी उषा अब ‘आचार्य’मार्फत फिल्ममा भाग्य अजमाउँदैछिन् ।
एक्सनप्रधान रहने ‘आचार्य’मा निखिल स्वयं मुख्य भूमिकामा देखिँदैछन् भने उनकी श्रीमती तथा अभिनेत्री सञ्चिता लुईँटेलको पनि अभिनय रहनेछ । यसपटक फिल्ममा फरक शैलीको एक्सन पस्किने तयारीमा निखिल छन् । प्याराग्लाइडिङबाट स्टन्ट गरेको दृश्य फिल्ममा समावेश गरिँदैछ । त्यसका लागि निखिलले साउथका एक्सन कारियोग्राफरलाई अनुबन्ध गरिसकेको स्रोत बताउँछ ।
तीन महिनाअघि निखिलले एक अन्तर्वार्तामा नयाँ फिल्मको छायांकन आगामी जेठबाट सुरु गर्ने बताएका थिए । उनले भनेका थिए, ‘म जेठबाट नयाँ फिल्मको छायांकन गर्छु होला । यो द्वन्द्व (एक्सन)मा आधारित फिल्म हुनेछ । यसको मतलब फिल्ममा सिर्फ द्वन्द्व छैन । पहिला चाहिँ म सिर्फ द्वन्द्व गर्थेँ । र, मैले गर्ने द्वन्द्वमा कथा हालिन्थ्यो । अब मैले बनाउने फिल्मको कथामा चाहिँ द्वन्द्व हुन्छ ।’