साहित्यकार इन्द्रबहादुर राईको सबैभन्दा बढी पढिएको र रुचाइएको कथा हो, ‘जार : भएकै एउटा कथा ।’ विश्वविद्यालयको सन्दर्भ सामग्रीदेखि रंगमञ्च (नाटक) हुँदै अब यो कथामा फिल्म समेत बनेको छ, जुन बैशाख २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । फिल्मको कथा जार संस्कृतिमा आधारित छ । भागेर अर्को विवाह गरेकी स्त्रीको पहिलो पतिले नयाँ चाहिँलाई भन्ने शब्द जार हो ।
‘जार’को कथा २२५ वर्ष अगाडिको हो । अर्थात् सन् १८ सय दशकको । त्यसबेला नेपाली समाजमा घटेको यथार्थ घटनालाई कथामा समेटिएको छ । त्यसैले ‘जार’को कथा २२५ वर्ष पुरानो भन्न मिल्ने निर्देशक फूर्वा छिरिङ लामाको भनाइ छ । फिल्मले इतिहाससँग साक्षात्कार गराउने र समाजमा हराउँदै गएका परम्परा र सम्बन्धका विविध पाटो देखाउने उनी बताउँछन् ।
‘मैले सानैदेखि सुन्दै आएको यो कथाले सधैं झकझक्याउँथ्यो । नेपाली समाजमा जस्तै नेपाली भाषी समुदाय जहाँ गए पनि एउटै भावना पाइन्छ,’ उनी भन्छन्, ‘यसले हाम्रो समाजको भोगाइ, निर्दोषता र त्यतिबेला प्रचलित मितेरी साइनोलाई पनि उजागर गर्छ ।’
‘जार’ले इतिहास, संस्कृति र समाजलाई स्पर्श गर्ने भएकाले युवा पुस्तामा समेत प्रभाव पार्ने विश्वास निर्देशक लामाको छ । उनी अगाडि भन्छन्, ‘हालका पुस्तामा मितेरी साइनो जस्ता विषय केही ओझेलमा परे पनि त्यसबेलाको समाजमा यसको ठूलो प्रभाव थियो । ‘जार’ केवल इतिहास सुनाउने माध्यम मात्र होइन, हाम्रो संस्कृतिको अदृश्य धागो भेटाउने प्रयास पनि हो ।’
फिल्मले प्रेमकथामार्फत तत्कालीन समाजको संरचना र मानव भावनाको जटिलतालाई देखाउने उनको भनाइ छ । ‘कथाका पात्र ‘ठूली’ र ‘रुद्रमान’ मार्फत दर्शकले त्यसबेलाको प्रेम, सम्बन्ध र समाजको कठोर वास्तविकता देख्न पाउनेछन् । ‘जार’ले आजका दर्शकलाई पुरानो समाज र आजबीचको गहिरो सम्बन्ध बुझ्न मद्दत पुर्याउनेछ,’ उनले भने ।
फेरि टेल पिक्चर्सले निर्माण गरेको फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, गीताञ्जली थापा (भारतीय अभिनेत्री) लगायतको मुख्य भूमिका रहेको छ । फिल्मको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । सरवानन इलावार्सुको डीओपी रहेको फिल्ममा अखिलेश राईको सम्पादन तथा झुमा लिम्बू र गंगा थापाको संगीत छ ।