मिति : २०८२ वैशाख १५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘झिल्को’ले डिजिटल कुलतको खतरा देखाउँछ : निर्देशक भट्टराई

फिल्मीखबर, काठमाडौं, 2025/04/27

Yadav Kumar Bhattarai

 

नेपाली समाजमा विद्यमान कुरीति, कुप्रथा, कुसंस्कार जस्ता सामाजिक समस्यालाई फिल्ममार्फत उजागर गर्न सिपालु मानिन्छन्, निर्देशक यादव भट्टराई । ‘झोला’ र ‘भोर’ यसका प्रमाण हुन् । ‘झोला’मा उनले नेपाली समाजमा एक समय विद्यमान सती प्रथालाई केन्द्रमा राखेर कथा भनेका थिए । ‘भोर’मा मधेशी समुदायमा व्याप्त दाइजो प्रथाले निम्त्याएको घरेलु हिंसा र हत्याको कथा थियो ।

अब ६ वर्षपछि ‘झिल्को’मार्फत निर्देशनमा फर्किएका भट्टराईले यसमा डिजिटल कुलतको भयावह अवस्थालाई देखाउन खोजेका छन् । डिजिटल प्रवृत्तिले मानिसको जीवनशैलीलाई कसरी विकृत र अस्तव्यस्त बनाइरहेको छ भन्ने यथार्थ चित्रण फिल्ममा गरिएको उनको भनाइ छ । डिजिटल कुलतले परिवारदेखि बालबालिकाहरूमा पारेको गम्भीर असरको कथा फिल्ममा रहेको उनले बताए ।

निर्देशक भट्टराई भन्छन्, ‘हामीले डिजिटल कुलतलाई एकदमै सामान्य ठानिरहेका छौँ । तर, यसले आगोको झिल्को जस्तै विस्तारै हाम्रो आत्मा डढाइरहेको छ । ‘झिल्को’ यही खतरा देखाउने फिल्म हो ।’ प्रविधिको अनियन्त्रित र असावधानीपूर्ण प्रयोगले बालबालिकाको भविष्य, पारिवारिक सन्तुलन र सामाजिक स्वास्थ्यमा असर पार्न सक्छ भन्ने सन्देश फिल्मले दिने उनको भनाइ छ ।

‘झिल्को’ले दर्शकलाई आफ्नो गल्तीहरू पहिचान गरेर विवेकपूर्ण जीवनशैली अपनाउन प्रेरित गर्नेमा उनी विश्वस्त छन् । भन्छन्, ‘फिल्म भनेको समाजको दर्पण र मार्ग निर्देशक हो । त्यसैले हामीले यो कथा उठान गर्नु आवश्यक ठानेका हौँ । ‘झिल्को’ तपाईँ र तपाईँको परिवारको यथार्थसँग गहिरो रूपमा जोडिनेछ ।’ उनका अनुसार फिल्मले एक बालिकाको डिजिटल लतको यात्रा भन्नेछ ।

यही बैशाख १९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा सुनिल पोखरेल, वर्षा सिवाकोटी, आयुषी ढकाल, विशाल पोखरेल लगायतको अभिनय छ । रंगकर्मी समेत पोखरेलले १३ वर्षपछि फिल्म अभिनयमा पुनरागमन गरेका हुन् । यसमा उनले शिक्षकको भूमिका निभाएका छन् भने वर्षा आयुषीकी आमाको भूमिकामा छिन् । फिल्ममा दीपक बज्राचार्यको डीओपी छ ।