आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको एक्सनप्रधान फिल्म ‘नरसिंहा अवतार’का निर्मातामध्येका एक हुन्, ध्रुव न्यौपाने । यो उनले निर्माण गरेको पहिलो फिल्म भने होइन । यसअघि उनले ‘हिरो रिटर्न्स’ र ‘मायावी’ गरी दुई फिल्मको निर्माण गरिसकेका छन् । तर, दुर्भाग्य ! दुवै फिल्म व्यावसायिक रुपमा सफल भएनन् । ‘नरसिंहा अवतार’बाट भने उनी आशावादी छन् ।
व्यावसायिक पृष्ठभूमिका उनलाई खासमा बाल्यकालदेखि नै फिल्मको हिरो बन्ने रहर थियो । तर, त्यो रहर भेटिने गन्तव्यको बाटो उनलाई थाहा थिएन । कसैको सहारा लिएर अघि बढ्न पनि कोही चिनेको मानिस थिएनन् । यसैले आफ्नो रहरलाई एकातिर थन्काएर उनी व्यवसायमा अगाडि बढे । अन्ततः त्यसले नै उनको कलाकार बन्ने सपना पनि पूरा गर्यो ।
नयाँ बानेश्वरमा रोजमेरी क्याफे खोलेपछि त्यहाँ आउने कलाकार र फिल्मकर्मीले उनलाई रंगीन दुनियाँ आउन हौसाए । त्यसपछि उनले ५० भन्दा बढी म्यूजिक भिडियोमा काम गरे । ‘प्लान’, ‘सन्त्रास’, ‘पायल’ जस्ता आधा दर्जन फिल्ममा पनि देखिए । तर, कोभिड-१९ महामारी सुरु भएपछि उनको कलाकारिता यात्रा अवरुद्ध भयो । यसपछि नै हो, उनी मेकरको रुपमा उदाएका ।
ध्रुव भन्छन्, ‘कोरोना महामारीपछि कलाकार भन्दा पनि निर्माता बन्ने योजना बनाएँ । केही म्यूजिक भिडियो र फिल्ममा काम गरेर रहर पूरा गरेँ जस्तो लाग्यो । अब व्यावसायिक दृष्टिकोणले अघि बढ्ने सोचले ‘हिरो रिटर्न्स’ बनाएँ । तर, फिल्म चलेन । हुन त कुन फिल्म कहिले चल्छ भन्न सकिँदैन । हामीले त आफूलाई राम्रो लागेको फिल्म बनाउने न हो ।’
दोस्रो फिल्म ‘मायावी’बाट पनि असफलता भोगेका ध्रुव ‘नरसिंहा अवतार’ले भने बक्स अफिसमा राम्रो गर्नेमा विश्वस्त छन् । ‘अब म निर्माता मात्रै होइन, मेरो फिल्म करिअरको दोस्रो इनिङमा राम्रो प्रोडक्सन हाउस सञ्चालन गर्ने योजना पनि लिएर आएको छु । लाइट आइसकेको छ, क्यामरा आउँदैछन्,’ उनी भन्छन् । प्रोडक्सन हाउसबाट वर्षेनि एउटा फिल्म निर्माण गर्ने उनको योजना छ ।