यही बैशाख २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जार’को प्रिमियर नेपाली भाषीको बाहुल्यता रहेको भारतीय सहर सिक्किममा गरिने भएको छ । बुधवार साँझ ५ बजे सिक्किमको प्रशासनिक जिल्ला गान्तोकस्थित बज्र सिनेमा हलमा प्रिमियर हुन लागेको हो । त्यसका लागि मंगलबार फिल्मको टिम सिक्किम प्रस्थान गरेको छ ।
निर्देशक फुर्वा छिरिङ लामा, कार्यकारी निर्माता त्रिलोचन पाण्डे, अभिनेताद्वय सौगात मल्ल, अनुपविक्रम शाही र गायिका तथा संगीतकार झुमा लिम्बू काठमाडौंबाट हवाई मार्ग हुँदै झापा ओर्लिएर सिक्किम प्रस्थान गरेका हुन् । फिल्मको छायांकन सिक्किममै भएकाले प्रिमियर पनि त्यही आयोजना गर्न लागिएका हो ।
सिक्किमपछि शनिबार सिलिगुडीमा फिल्मको दोस्रो प्रिमियर राखिएको छ । प्रिमियरमा स्थानीय दर्शकसँग फिल्म हेरेर कलाकार तथा निर्माण टिमले प्रतिक्रिया लिनेछ भने दार्जिलिङमा पनि फिल्मको प्रचारात्मक कार्यक्रम रहेको निर्देशक लामाले बताए ।
भारतीय मुलका नेपाली भाषी साहित्यकार इन्द्रबहादुर राईको कथा ‘जार : भएकै एउटा कथा’मा आधारित रहेर बनेको फिल्ममा सौगात र अनुपविक्रमसँगै भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापाको प्रमुख भूमिका छ । सरवानन इलावार्सुको छायांकन रहेको ‘जार’मा अखिलेश राईको सम्पादन छ । फिल्मको कथा २२५ वर्ष अगाडिको हो ।