नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक चार मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ । यसमा ब्राह्मण युवक र गुरुङ युवतीबीचको प्रेमलाई मियो बनाएर कथा भनिएको छ । ट्रेलर हेर्दा फिल्मको केन्द्रीय द्वन्द्व सामाजिक अन्तर्विरोध रहेको देखिन्छ ।
अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरले फोटो खिचाएको दृश्यबाट सुरु भएको ट्रेलर विपिनले क्यामराको रिल हेरेको दृश्यसँगै टुंगिएको छ । यसले फिल्मको कथा दुई दशकअघिको रहेको संकेत गर्छ । गुरुङ र ब्राह्मण समुदायको परम्परालाई समेत चित्रण गरिएको ट्रेलरमा गायक सुजन चापागाईं र गायिका झुमा लिम्बूको गीतको प्रयोग सशक्त रुपमा भएको छ ।
ट्रेलर रिलिज कार्यक्रममा निर्देशक चौहानले फिल्मको कथा पाँचथरदेखि भारतको पश्चिम बङ्गालको सीमासम्म फैलिएको बताए । फिल्म बनाउने सपना बोकेको क्षणदेखि ट्रेलर सार्वजनिक गर्नेसम्मको यात्रा निकै चुनौतीपूर्ण रहेको स्मरण गर्दै उनले इमानदार भएर राम्रो फिल्म बनाउने प्रयास गरेकाले दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरे ।
बैशाख २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा विपिन र मिरुनासहित एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमु, भावना खपाङ्गी, विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा लगायतको अभिनय छ । आर्टमाण्डूको निर्माण रहेको फिल्मलाई चिन्तनराज भण्डारीले छायांकन गरेका हुन् । फिल्ममा समावेश ‘काफ्ले’ बोलको गीत यतिबेला निकै चर्चामा छ ।