आगामी दशैंको फूलपाती (सेप्टेम्बर २९)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बलिदान’को प्रि-टिजर सार्वजनिक गरिएको छ । बुधबार फिल्मका मुख्य अभिनेता समीर भट्टको जन्मदिनको अवसरमा सार्वजनिक ४२ सेकेण्ड लामो टिजरमा उनी मात्र चित्रित छन् । उनको एक्सन दृश्य समेटिएको टिजरमा अभिनेता विराज भट्टको देशभक्तिपूर्ण भावनाले भरिएको न्यारेशन सुन्न सकिन्छ ।
टिजरको सुरुवातको दृश्यले फिल्ममा समीर कुनै समुदायको शक्तिशाली पात्रको रुपमा रहेको संकेत गर्छ । रिसाहा भावमा प्रस्तुत भएका उनको टिजरमा एउटा डाइलग पनि छ, ‘आमाको पीर, यो देशको शिर कहिल्यै झुक्न नदिने सपूत हुँ म ।’ टिजरको अन्तिममा उनको आक्रोशपूर्ण चिच्याहटले दृश्यलाई अझ प्रभावशाली बनाएको छ ।
फिल्मका निर्देशक सन्तोष सेनले समीरलाई युगपुरुषको संज्ञा दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘नेपाली फिल्म जगतमा समीरको प्रवेशले एक नयाँ युगको थालनी गर्नेछ । त्यसैले हामी उनलाई युगपुरुष भन्दै आएका छौँ । समीरमा कलाकारिकता र अभिनयका सबै गुण र सीपले भरिएका छ । ‘बलिदान’ले ती सबै गुण र सीपलाई उजागर गरेको छ ।’
फिल्ममा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, सन्तोष सेन, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतको अभिनय रहेको छ । यसमा ऋचाले समीरकी आमाको भूमिकामा अभिनय गरेकी छन् । ‘प्रेमगीत’ निर्माण कम्पनी ‘आसुसेन फिल्म्स्’को प्रस्तुति रहेको ‘बलिदान’का निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् । कलाकार प्रेम पुरी कार्यकारी निर्मातामा रहेका छन् ।