सन्तोष कुमार आत्रेयको निर्देशनमा फिल्म ‘शिवांश’ निर्माण हुने भएको छ । अक्षय तृतीयाको अवसर पारेर बुधबार एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । पोस्टरमा ‘च्याप्टर एक’ उल्लेख गरिएको छ । अर्थात् फिल्मको दोस्रो भाग पनि निर्माण हुनेछ । ‘शिवांश’को अर्थ भगवान् शिवको एक अंश भन्ने हुन्छ ।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार प्रवीण खतिवडा फलामको साङ्लोले बाँधिएको अवस्थामा चित्रित छन् । उनको अनुहारको आधा भाग मात्र देखाइएको छ । पोस्टरमा अर्का एक पुरुष पात्रलाई अग्लो स्थानबाट घना बस्तीतिर हेर्दै गरेको देख्न सकिन्छ । र, उनको अगाडि आगोको चक्र छ । यसले शक्ति संघर्षको कथामा फिल्म आधारित रहेको संकेत गर्छ ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा प्रवीणसहित तेज गिरी, रुषा न्यौपाने, विकास जोशी, विमला लिम्बु, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय सुब्बा, टिका निरौला लगायतको अभिनय रहनेछ । अञ्जान केसी फिल्मका निर्माता हुन् । यसमा उनी स्वयंको कथा छ । सह-निर्माता भने शोभा भण्डारी र अनिस केसी बोगटी हुन् ।
बारत लिम्बूको पटकथा लेखन रहेको फिल्ममा स्क्रिप्ट डक्टरको रूपमा सुलक्षण भारती छन् । यसमा सरद महतोको छायांकन, न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत, मिलन श्रेष्ठको द्वन्द्व निर्देशन तथा विक्रम चोहानको नृत्य निर्देशन रहनेछ । डिसिएनले वितरण गर्ने फिल्मलाई तिहारको छेको पारेर आगामी असोज २४ गते प्रदर्शन गरिने निर्माता केसीले जानकारी दिए ।