रमेश कोइरालाको निर्देशनमा बन्न लागेको फिल्म ‘बिगुल’को शुभ मुहूर्त गरिएको छ । बुधबार बिहान कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा क्यामरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै जोडी परेवा उडाएर फिल्मको मुहूर्त गरिएको हो । फिल्ममा जोडीको रुपमा देखिन लागेका बेनिशा हमाल र नरेन खड्काले आ-आफ्नो संवाद बोल्दै मुहूर्त सट दिएका थिए । यो उनीहरुबीचको पहिलो सहकार्य हो ।
बैशाख अन्तिमबाट चितवनमा छायांकन गर्न लागिएको फिल्ममा नीर शाह, रमेश बुढाथोकी, गीता अधिकारी, हेमन्त बुढाथोकी, जेएन घिमिरे, सुमोद भारद्वाज, विनयराज पौडेल, सुपा खनाल, बबी भारती, तुलसी लम्साल, बाल कलाकार श्रेयान्सी थपलिया लगायतको पनि अभिनय रहनेछ । कल्पना पौडेलको प्रस्तुति रहेको फिल्मका निर्माता महेश कोइराला र सूर्यकान्त कोइराला हुन् ।
सामाजिक जागरण, समसामयिक राजनीति, आमनागरिकको कर्तव्य र जिम्मेवारीको कथामा बन्न लागेको फिल्मको गीतमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत छ । मौनता श्रेष्ठको पटकथा तथा संवाद रहेको फिल्ममा शिव ढकालको डीओपी र कविराज गहतराजको कोरियोग्राफर रहनेछ । फिल्मका निर्माण व्यवस्थापक श्याम केसी हुन् ।