अरू दिन नाटक तथा सांस्कृतिक कार्यक्रम मञ्चन हुन्थ्यो, राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा । यतिबेला त्यहाँ दैनिक फरक-फरक नेपाली सिनेमा हेर्न पाउँदा दर्शकहरू दंग परेका छन् । आइतबारबाट नाचघर सिनेमामय भएको छ । आठ सय सिट क्षमता रहेको सुविधा सम्पन्न सो नाचघरलाई नेपाली फिल्म प्रदर्शनका लागि ठेक्कामा दिने प्रयास भइरहेको छ । तर, यतिबेला भने त्यहाँ 'चौथो चलचित्र महोत्सव' चलिरहेको छ ।
महोत्सवमा मंगलबार नयाँ फिल्म 'मायाँ त मायाँ हो' को टिकट किनिरहेका दर्शक रमेश भण्डारीले भने, 'विश्वज्योतिमा फिल्म हेर्न आएको थिएँ । तर, यहाँ राम्रो फिल्म लागेको थाहा पाएर यतै आएको हुँ ।' राजधानीको गल्कोपाखा निवासी रमेशको त्यहाँ अरू पनि फिल्म हेर्ने योजना छ, '२०६६ सालका सबै नेपाली फिल्म यहाँ हेर्न पाइने रहेछ । राम्रा फिल्म जति छानेर हेर्छु ' रमेशले भने ।
जमलकै विश्वज्योति सिनेमा हलमा यतिबेला फिल्म 'मन मुटु र मायाँ' चलेको छ । केही वर्षघि निर्मित यो फिल्म यो साता मात्र रिलिज भएको हो । तर, त्यहीँनजिकै राष्ट्रिय नाचघरमा चलचित्र महोत्सव सुरु भएपछि विश्वज्योतिमा दर्शक निकै घटेको हलका कर्मचारीहरूले बताए । चलचित्र महोत्सवको आयोजना नेपाल चलचित्र प्राविधिक संघले गरेको हो । महोत्सव ३० साउनसम्म चल्ने संघका अध्यक्ष सन्तु तामाङले जानकारी गराए ।
चार वर्षघि राजधानीको शिव दर्शन सिनेमा हलमा फिल्म प्रदर्शन गरेर यो महोत्सव सुरु गरिएको थियो । त्यसपछिका वर्षा काठमाडौंकै गोपीकृष्ण हलमा यो महोत्सव गरियो । तर, यसपटक गोपीकृष्ण हलमा 'बक्स अफिस फिल्म महोत्सव' आयोजना गरियो । त्यसैले नाचघरमा आफूहरूले महोत्सव सञ्चालन गर्नु परेको अध्यक्ष सन्तुले स्पष्ट पारे । नाटक र सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने नाचघरमा फिल्म महोत्सव सफल होला भन्ने विश्वास अध्यक्ष सन्तुलाई थिएन । तर, आफूले सोचेको भन्दा उल्लेख्य संख्यामा दर्शक उपस्थित भएको पनि उनले जानकारी गराए ।
महोत्सवमा हरेक सोमा फरक-फरक नेपाली सिनेमा देखाइएको छ । मंगलबार पहिलो सोमा प्रस्तुत फिल्म 'धुम'मा दर्शकको उपस्थितिबारे संघका महासचिव मनोज केसीले भने, 'हलमा रहेका करिब आठ सय सिटमा दुइतिहाइ भन्दा बढी त दर्शक छन् । यही गतिले दर्शक आउने हो भने एक/दुइ दिनपछि प्रत्येक सो हाउस फुल हुनेछ ।' महोत्सवमा मंगलबार सोभित बस्नेतको फिल्म 'धुम' र तुलसी घिमिरे निर्देशित विनोद अर्यालको फिल्म 'मायाँ त मायाँ हो' प्रदर्शन गरियो । राजधानीमा प्रदर्शन हुन बाँकी मायाँ त मायाँ होमा दर्शकको राम्रो उपस्थित रहेको निर्माता विनोदले जानकारी गराए ।
यो महोत्सवमा २०६६ सालमा सेन्सर एवं प्रदर्शन भएका ३१ ओटा नेपाली फिल्म सहभागी छन् । जसमध्ये केही चलचित्र त राजधानीमा रिलिज हुन बाँकी छन् । निरक पौडेल निर्देशित फिल्म कुसुमे रुमालको प्रदर्शनसँगै आइतबार अपराह्नबाट यो महोत्सव सुरु भएको थियो । महोत्सवमा सोमबार नैना रेशम र जंगबाज पर््रदर्शन गरियो ।
यस्तै, बुधबार शोभित बस्नेतको फिल्म दानवीर र विजय थापाको फिल्म दाग प्रदर्शन गरिँदै छ । यस्तै, बिहीबार कहाँ छौं कहाँ र रक्षक, शुक्रबार कहाँ भेटिएला र मेरो एउटा साथी छ एवं बाटुली शनिबार प्रदर्शन गरिने पनि प्राविधिक संघका महासचिव मनोजले जानकारी गराए । मनोजका अनुसार हरेक फिल्मको प्रतिटिकट मूल्य एक सय रुपैयाँ राखिएको छ । महोत्सवमा शनिबार पछि देखाउने फिल्महरूमा दोस्ती, टक्कर दुइ मुटुको, सम्झना, तोड, त्रिनेत्र, इज्जतदार, राज्य, अर्जुनदेव, महान, र्फज, जीवन मृत्यु रहेका छन् । यस्तै, क्यारेङ ग्याङ-२, छोडी गए पाप लाग्ला, निशाना, जंगबाज, पहिलो पहिलो मायाँ, आफ्नो मान्छे आफ्नै हुन्छ, हिफाजत र दिवानापन पनि यो महोत्सवमा प्रदर्शन हुँदै छन् ।
महोत्सवमा प्रदर्शित सिनेमाहरूलाई ६ सदस्यीय निर्णायक मण्डलले हेरिरहेका छन् । यी ३१ फिल्मबाट विभिन्न ३२ विद्याको चयन तिनै निर्णायक मण्डलले गर्नेछन् । निर्णायक मण्डलमा कलाकार मोहन निरौला, प्रभाकर देव शर्मा, निर्देशक विजयरत्न तुलाधार, छायांकार नरेन्द्र प्रधान, गीतकार विशेष श्रेष्ठ र सञ्चारकर्मी शान्तिप्रिय रहेको पनि प्राविधिक संघका तर्फाट जानकारी गराइएको छ । संघले 'नेफ्टा फिल्म अवार्ड' भने असोजमा प्रदान गर्ने पनि अध्यक्ष सन्तु तामाङले बताए ।
राजधानी