
आफुले निर्देशन गरेको दोस्रो चलचित्र 'वीरताको चिनो' को प्रोमोशनका लागि निर्देशक शंकर घिमिरे लण्डन हानिएका छन् । एक साता अघि मात्र अष्ट्रेलियामा चलचित्र प्रदर्शन गरी फर्किएका निर्देशक घिमिरे बिहिबार बिहान कतार एयरलाईन्सबाट त्यस तर्फ उडेका थिए ।
लण्डनबाट फिल्मीखबरसंग कुरा गर्दै घिमिरेले पाँच सेप्टेम्बर देखि आफ्नो चलचित्र प्रदर्शन गरिने जानकारी दिए । चलचित्रको प्रदर्शन लण्डनका मुख्य शहर लण्डन सिटी, वकिङ्ग, फ्रेनब्रोगट आदि स्थानमा देखाईने निर्देशक घिमिरेले जानकारी दिए । चलचित्रको पहिलो शो भने फर्नब्रोगटमा हुने छ ।
नायिका ऋचा घिमिरेको पति समेत रहेका शंकर चार हप्तासम्म लण्डन बस्ने छन् भने ऋचा १ तारिखमा लण्डन जादै छिन् । बिवाह गरेको पहिलो बर्ष लण्डनमा तिज मनाउन लागेकी ऋचा "वीरताको चिनो" मा नायिका समेत भएर खेलेकी छिन् ।
वर्ल्डवाईड मुभिजको ब्यानरमा निर्माताद्वय श्याम सुवेदी र श्याम कार्कीले निर्माण गरेको सो चलचित्रमा नायक विराज भट्ट, सुमन सिहँको समेत अभिनय रहेको छ । मोजमस्तीमा हिड्ने युवाहरू परिआएको खण्डमा देशको लागि समेत ज्यान दिन सक्छन् भन्ने कुरा वीरताको चिनोमा देखाइन खोजिएको छ । जसमा छुट्टा-छुट्टै पाँच धर्म मान्ने युवाहरूलाई निर्देशक शंकरले शसक्त ढङ्गमा अभिनय गराएका छन् ।