निर्माता तथा निर्देशक नरेश पौडेल केही दिन यता निकै खुशी मुद्रामा भेटिन थालेका छन् ।
गएको श्रावण २८ गते प्रदर्शनमा आउने भनिएको उनको पाँचौ चलचित्र "दीप शिखा" एक महिना पर सरेपछी उनको अनुहारमा एका-एक चमक बढ्न थालेको हो । कारण ? आफ्नो पालोमा बिग बजेटका अन्य चलचित्रहरू प्रदर्शनमा आएपनि तिनिहरूले खासै व्यापार गर्न नसकेपछी उनीमा एकाएक खुशीको चमक बढ्न थालेको हो ।
पछिल्ला चरणमा प्रदर्शनमा आएका चलचित्र 'फष्ट लभ' बाहेक अन्य चलचित्र फल्यासब्याक, नाई न भन्नु ल, कानुन, साथै कोही मेरो को दर्शक प्रतिक्रिया पाएपछी ती चलचित्र भन्दा आफ्नो चलचित्र निकै राम्रो रहेको संकेत पौडेलले गरेका छन् ।
घुमाएर फिल्मीखबरसंग कुरा गर्दै उनले भने "मेरो चलचित्र हेर्नुस अनि थाहाँ पाईहाल्नु हुन्छ नी " झण्डै तीन घण्टा लामो चलचित्र "दीप शिखा" मा दर्शकलाई राम्ररी बाध्ने प्रयास गरेको बताउदै पौडेलले बोर मानेर बीचबाटै दर्शक नउठ्ने दाबी समेत गरेका छन् ।
तीन घण्टासम्म दर्शकलाई एउटा बन्दहलमा बाधेर राख्नु कुनै चानचुने कुरा नभएको बताउदै पौडेलले अरूको नतिजा हेरेर आफुले प्राप्त गर्ने नम्बर अहिलेनै अडकल काटिसकेका छन् ।
आगामी भदौ २५ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र "दीप शिखा" त्रिकोणात्मक तर नारीप्रधान चलचित्र रहेको बताईएको छ । नायिका अरूणिमा लम्सालले लेखेको यस चलचित्रमा लम्सालसंगै हयाण्डसमा नायक जीवन लुइटेल र निरज बराल प्रमुख भूमिकामा रहेका छन् ।