'घडकन' बनाएको झण्डै चार बर्षछी चलचित्र 'दिप शिखा' निर्माण गरेका निर्माता तथा निर्देशक नरेश पौड्यालको अग्नी परीक्षा भोलि देखि शुरू हुँदैछ ।
भोली शुक्रबारबाट देशभर प्रदर्शनमा आउन लागेको उनको चलचित्र के होला कस्तो होला ? चलचित्र प्रदर्शन भएपछि यसको टुङो लाग्नेछ । यस्तै नायिकाबाट पहिलो पटक लेखक समेत भएकी सोही चलचित्रकी नायिका अरूणिमा लम्साल लेख्नमा कति अब्बल छिन् भन्ने कुरा पनि चलचित्रको प्रिमियरपछी नै थाहा हुन्छ ।
चलचित्र 'चुनौती' बाट सुरू भएको नरेशको निर्देशन यात्रा दीपशिखामा आएर के होला ? सवैले प्रतिक्षा गरेको नतिजा हो त्यो । त्रिकोणात्मक प्रेमकथा अनि नारी प्रधान भनिएको यो चलचित्र अन्य नेपाली चलचित्र भन्दा फरक रहेको निर्देशक पौड्यालले दाबी समेत गर्दै आएका छन् ।
सामान्यतया सवा २ घण्टाको नेपाली चलचित्र भएपनि 'दीपशिखा' भने झण्डै ३ घण्टा लामो छ । समय जति धेरै भएपनि दर्शक बोर मानेर बीचबाटै नउठ्नेमा निर्देशक पौड्याल आशावादी देखिएका छन् ।