मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

त्यो झुपडीमा एक्लो गोपाल भुटानीको दशै

अनुप भट्टराई, काठमाण्डौ, 2010/10/15

काठमाण्डौको स्वयम्भु नाथको दायाँ पट्टी रहेको सानो खोल्सो त्यो खोल्सो संगै रहेका करिब दर्जन सुकुम्बासी झुपडी अनि त्यो झुपडीको बीचमा एक्लो जीवन विताईरहेका नेपाली चलचित्रका इतिहास पुरूष गोपाल भुटानीको आँखामा  दशैको कुनै उमङ्ग देखिएको छैन् ।



सुप समेत खान नसक्ने अवस्थामा रहेका ७८ बर्षे भुटानीको सानो कोठामा दशै नआएको बर्षौ भइसक्यो । चलचित्र क्षेत्रमा 'गुरू बा' भनेर चिनिने भुटानीको हातबाट दशैको आशिर्वाद थाप्न कोही चलचित्रकर्मी जादा रहेनछन्, शिवाय राजेन्द्र खड्गी र एक जना उनका साथीको भाई ।  द्धन्द्ध निर्देशक राजेन्द्र खड्गी उनका चेला भएकाले उनी कहिले काही भुटानीलाई भेट्न त्यो झुपडीमा देउता बनेर जादा रहेछन् ।



अल्सर रोगी भुटानी आफ्नो झुप्रोमा कोही आउने  आशमा दिनभर  आखा ट्टयाउन्जेल बाहिर  हेर्छन, तर कोही नआएपछी उनी पुनः त्यो झुपडीमा गएर नयाँ विहानीको पर्खाइमा टोलाउदा रहेछन् । उनको दाह्री र कपाल सेतै भएर फुलिसकेका छन्, आँखा पनि मलिन छ , जिउहरू सुकिसकेकाछन्,  अनुहारको छाला पुरै चाउरी परेको छ तर पनि हिम्मत हारेका छैनन्  भुटानीले ।



२०२९ सालमा मनको बाघ भन्ने चलचित्रबाट अभिनय यात्रा सुरू गरेका भुटानी चलचित्र क्षेत्रमा विभिन्न विशेषणले चिनिएका छन् । हुलाकीको सानो रोलबाट अभिनय यात्रा सुरू गरेका भुटानी द्धन्द्ध निर्देशक तथा कला निर्देशकको परिचयले चलचित्र उद्योगमा परिचित छन् ।



उनी एक्लो जीवन खोला किनारको सुकुम्बासी बस्तीमा विताई रहेका छन् । इन्डियन श्रीमतीसंग सम्बन्ध विच्छेद भएको ३५ बर्ष भईसकेछ भुटानीको तर पनि कुनै स्त्रीसंग बिवाह गर्ने सोच आएन उनलाई । किन विवाह नगर्नु भएको भन्ने फिल्मीखबरको प्रश्नमा उनी भन्छन 'म स्त्री जातिलाई विश्वास गर्न सक्दीन ।' 
जीवन गुजारा गर्न अझै पनि काम गर्न पछि नपर्ने भुटानी विरामी शरिर नभनी चलचित्रमा अझै  काम गर्दा रहेछन् । उनले पछिल्लो पटक शिवजी लामिछानेको चलचित्र जलजलामा काम गरेका छन् । जलजलालाई सम्झदै उनले भने 'सायद यो मेरो जीवनको अन्तिम चलचित्र हो ।' 



सुकुम्बासी बस्ती भएपनि कोठा चिटिक्क छन् उनका नायिका जल शाह देखि उच्च चलचित्रकर्मीसंग खिचेका फोटा तथा अवार्डहरूले भरिभराउ छ त्यो झुपडी  । 'मैलै अवार्ड र प्रमाण पत्र त धेरै पाए तर त्यसलाई सम्मान गर्न सकिन्'  खाटमुनी कोचेर राखिएको सयौ सम्मान पत्र देखाउदै भुटानीले भने । उनले पाएको ती सम्मान पत्र यदि सजाएर राख्ने हो भने एउटा ठूलो घरको आवश्क्ता पर्दछ तर बिचरा त्यो एउटा कोठमा कति थोक अटाओस ?



उनका साथी भन्नु नै मोबाईल र रेडियो रहेछन् । काम परेका बेला कसैलाई फोन गरिहाल्ने भर पर्दो साथी र हरेक खबर दिईरहने रेडियो उनको जीवनको  सवै भन्दा प्यारो बस्तु रहेछन् ।



मुर्म्बईमा पनि विभिन्न चलचित्रमा काम गरिसकेका भुटानीलाई सिबि गुरूङ भन्ने एक ब्यक्तिले निकै सहयोग गर्दा रहेछन् । गुरूङलाई देउताको संज्ञा दिदै भुटानी भन्छन्  'मेरो आफ्नो छोरो भई दिएको भए पनि यस्तो सेवा गर्दैनथ्यो । उ मेरो लागि भगावान सरह छ ।'  गुरूङले दैनिक २ तीन पटक भुटानीलाई फोन गर्दा रहेछन् र अप्ठयारो परेको खण्डमा मान्छे पठाएर नभए आफै उपस्थित भएर उनको सेवा गर्दा रहेछन् । चलचित्र क्षेत्रभन्दा फरक क्षेत्रका ती मानिस गोपाल भुटानीको साथीको भाई रहेछन् ।



निकै गरिब आफ्नो जीवन दानमै बाचेको बताउने  भुटानी  यो समय जीवन र मृत्युको दोषाधमा छन् । उनी केही खान सक्ने अवस्थामा छैनन् । एक प्याकेट चाउचाउको सुप सक्न पनि उनलाई चार टाईम  लाग्छ । अतितका दिनहरू र शुभचिन्तक  सम्झदै भुटानी भन्छन् ''मलाई
गुरू बा गुरू बा भन्नेहरूले आज एक कल फोन पनि  गर्दैनन् ।'' 



उनको सम्पतीको नाममा एउटा साधारण खाट, प्लष्टिकको एउटा कुर्सी, बासको एउटा मुडा  टि-टेबल एउटा, दुईवटा दराज तथा हजारको संख्यामा रछयान भएर बसेका सम्मान पत्र रहेका छन् ।



अल्सरले निकै च्यापिसकेको छ उनलाई कुनै पनि बेला सदाको लागि संसार छाड्ने अवस्थामा पुगिसकेका छन् भुटानी । उनले  भात नखाएको तीन महिना भईसक्यो । शरिर भाटो जस्तो भईसकेको छ भुटानीको । पुराना कुनै पनि लुगा ठिक हुदैनन् उनलाई । दराजमा मिलाएर राखेको लुगा देखाउदै उनले भने 'अहिले यो लुगामा तीन वटा गोपाल भुटानी अट्छ ।' 


जुन सुकै बेला तेह त्यग्ने अवस्थामा रहेका भुटानी  अल्सरको कारण जीवन र मृत्युको दोषाधमा छन् । सदाको लागि अस्ताउने अवस्थामा रहेका भुटानी सायद यो दशै सम्म रहन सक्छन वा सक्दैनन् केही भन्न सकिने अवस्था छैन् ।