नेपालका त्यस्ता कुनै पत्रिका छैनन् जसमा नायक नायिकाको समाचार तथा फोटो प्रकाशित नभएको होस् । अधिकांश फिल्मी समाचारमा कि त नायिकाको तस्विर हुन्छ कि त नायकको । तर नेपाली चलचित्र निर्देशक समाजले भने आफ्नो पत्रिकामा नायक नायिकाको कुनै पनि समाचार र तस्विर प्रकाशित गर्ने गरेको छैन र गर्ने मनस्थिति पनि बनाएको छैन ।
गत बैशाख महिनामा समाजले प्रकाशनमा ल्याएको 'एक्सन कट' नामक मासिक पत्रिकामा अहिले सम्म कुनै पनि नायक नायिकाको समाचार नछापिएको समाजका अध्यक्ष केपी पाठकले फिल्मीखबर डटकमलाई जानकारी दिए । उनले भने 'देशका सबै पत्रिकाले नायक नायिकाको समाचारलाई प्राथमिकतामा राख्छ तर हामी भने निर्देशकका समाचारलाई नै प्राथमिकतामा राख्छौं ।'
निर्देशक समाजको सो मुखपत्र प्रत्रिकाले निर्देशकहरूलाई मात्र लक्षित गरेर प्रकाशनमा ल्याएको हो । पाँच अंक प्रकाशित भईसकेको सो पत्रिकामा निर्देशक र उनीहरूसँग सम्बन्धित समाचार नै प्रकाशित हुँदै आएको छ ।