नेपाली भाषी इन्डियन आइडियल प्रशान्त तामाङ्गलाई हिरोको रूपमा प्रस्तुत गरिएको चलचित्र 'गोर्खा पल्टन' उत्कृष्ट भएको निर्माण पक्षले दाबी गरेको छ ।
आगामी कात्तिक १९ गते देखि देशव्यापी प्रदर्शनमा आउन लागेको सो चलचित्र बारे सोमाबर राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा निर्माण पक्षले फिल्म उत्कृष्ट भएको दाबी गरेको हो । मुभिज डट कमको ब्यानरमा दोस्रो पटक निर्माण भएको उक्त चलचित्रलाई नारायण रायमाझीले निर्देशन गरेका हुन । पहिलो पटक चलचित्र निर्देशन गरेका रायमाझीले फिल्मलाई उत्कृष्ट बनाउन कुनै कुरामा कन्जुसाइ नगरेको स्पष्ट पारेका छन् ।
यस्तै सो चलचित्रका निर्माता राजेश बंशलले लाहुरेको कथालाई पूर्णतया नेपाली शैलीमा निर्देशकले उत्कृष्ट ढङ्गमा प्रस्तुत गरेकाले गोर्खा पल्टनबाट आफु निकै आशावादी रहेको बताएका छन् । गायकबाट नायकको परिचय बनाउदै गरेका आईडियल तामाङले 'सुरूमा सो चलचत्रि खेल्ने प्रस्तावले आफु अचम्मित भएको तर पछी आफ्नै कथा स्क्रिप्टमा भेटेकाले हिरो बन्न तयार रहेको बताए ।
गीत गाउँदा जसरी मिहिनेत गरेको छु त्यसरी नै अभिनयमा पनि मिहिनेत गरेकाले चलचित्र राम्रो भएको उनको भनाई थियो । गोर्खा पल्टन बाहे क अन्य दुई चलचित्रमा अभिनय गरिसेका तामाङले गायन पेशालाई कहिल्यै नत्याग्ने बताउदै अभिनयका लगि थप प्रस्ताव आए आफु तयार रहेको बताएका छन् । सो चलचित्रमा प्रशान्तले तीन वटा गीत पनि गाएका छन् ।
पूरानो शैलीमा आधारित भएर पाल्पाको विभिन्न स्थानमा छायाकंन गरिएको सो चलचित्रमा शिर्षक अनुसार युद्धमा बहादुरी प्रदर्शन गरी देशको गरिमा बढाउने गोर्खाली सैनिकको कथा समेटिएको छ । विवि अनुरागीको संगीत, शिव ढकालको छायाकंन तथा अष्ट महर्जनको द्धन्द्ध रहेको सो चलचित्रमा प्रशान्त तामाङका अलवा रञ्जिता गुरूङ, सोनिया केसी, सुनिल थापा, कविता आले लगायतले अभिनय गरेका छन् ।