
गएको दशैको समयमा आँठ दिनको लागि स्थगित गरिएको सम्पूर्ण फिल्मका सुटिङ्गहरू तिहारको लागि पनि स्थगित गरिएको छ ।
आज शुक्रबार लक्ष्मी पुजाको दिनबाट पूर्ण रुपमा स्थगित गरिएको सुटिङ्ग आगामी बिहिबार सम्म जारी रहने फिल्म बनाईरहेका चलचित्रकर्मीहरूले जानकारी दिएका छन् । यो समयमा सुरेश दर्पण पोखरेल निर्देशित चलचित्र मिस यू, शोभित बस्नेतको तँ त साह्रै सप्रिस नि बद्री, श्री राम पुडासैनीको गर्व, महानायक राजेश हमाल अभिनित दुई चलचित्र चम्पा चमेली र चन्द्रावतीको सुटिङ्ग भाईटिकाको केही दिनपछी मात्र सुरू गरिनेछ ।
यस्तै पच्चिस प्रतिशत सुटिङ्ग सकिएको सुदर्शन थापा निर्देशित तेस्रो चलचित्र के यो माया हो को छायाकंन आगामी कात्तिक २५ गते देखि पोखरामा पुनः सुरू हुने छ । पोखराबाट के यो माया हो को यूनिट सुटिङ्ग स्थगित गरेर हिजो बिहिबार काठमाण्डौ फर्किएको हो ।
उता तिहारकै लागि तीन अघि देखि स्थगित गरिएको दीपक रायमाझी निर्देशित चलचित्र चाडै आउ है र शिव रेग्मी निर्देशित अठारौ चलचित्र फूल पनि हिजोबाट २३ गते सम्मका लागि स्थगित गरिएको छ ।
यस्तै सागर लामिछाने निर्देशित दोस्रो चलचित्र इकु ब्याक अगेनको सुटिङ्ग कार्य पनि भाईटिका सम्मलाई स्थगित गरिएको छ ।
यसैगरी तिहारको मौका छोपी निर्माता गोविन्द शाहीले आफ्नो दोस्रो चलचित्र संसार आफ्नैलाई हिजो बिहिबारनै प्याकअप गरेका छन् । उता रमेश बुढाथोकी निर्देशित चलचित्र ग्याम्बलरलाई पनि गएको मंगलबार प्याकअप गरि सकिएको छ ।