
श्रीमती सुस्मिता केसीसंगको दोस्रो पारपाचुके पछिको पहिलो तिहार मनाएका नायक भुवन केसीको अनुहारमा आईतबार निकै चमक थियो । सिनामंगल एयरपोर्ट अगाडीको उनको घरमा केही दिन यता निकै चहलपल थियो । कारण अमेरिकाबाट पाँच बर्षछी तिहार मनाउन आएकी उनकी छोरी काजोल रहिछिन् ।
चारजना दाजुभाईको पारिवारिक जमघटमा भाईटिका मनाएका नायक केसी अरू दिनको तुलनामा निकै खुशी थिए । भुवनका चार दाजुभाईलाई एक्ली बहिनी निलम ओझाले भाईटिका लगाईदिएकी थिइन् ।
यस्तै हिरो बन्ने तयारीमा रहेका भुवनका छोरा अनमोललाई दिदी काजोलले भाईटिका लगाई दिएकी थिइन् । फोटो खिच्दै भाईटिका लगाएका भुवनले भने 'साह्री रमाईलो भयो ।'
यस्तै नायिका अरूणिमा लम्सालले पनि काठमाण्डौको पूरानो बानेश्वर स्थित मिलन चोकमा एक जना भदा आकृत र दुई जना दाई विनायक र बिबेक लाई भाईटिका लगाएकी थिइन् । अन्य बर्षभन्दा फरक ढङ्गले भाईटिका मनाएकी नायिका लम्सालले आमा भावु लम्साल र सासुसंग एक साथ भाईटिका मनाएकी हुन ।
कुर्ता सलवारमा रहेकी नायिका लम्सालले भाईटिकाको त्यो सम्पूर्ण क्षणलाई आफ्नो मुभी क्यामेरामा कैद गरेर राखेको बताईन् । यो पालिको तिहार उनका लागि निकै रमाईलो भयो रे । भाईटिकाको दिन सवै परिकार आफुले बनाएको भन्दै उनी भन्दै थिइन् 'मैले साह्री मिठो पकाएको छु ।' आफ्ना दुई दाजु र भदालाई अरूणिमाले नाङ्गलोमा फिजाएर मसला, फलफूल तथा मिर्ठाई दिएकी थिइन् ।