
हुन त नेपालको हरेक क्षेत्रमा राजनीतिले नराम्रो गरी प्रभाव पारेको छ । नेताको झिनो आशे बोलीमा धेरै जनताहरूले सपनाको ठूलो महल पनि नबनाएका हैनन् । केही नेताको बोलीमा कसैले नेपाल अमेरिका र स्वीटजरल्याण्ड समेत भएको कल्पना गर्न भ्याए । संविधान सभाको निर्वाचन भएको भोली पल्ट चुड्कीको भरमा नयाँ नेपाल बनाईदिने सपनाको भारी बोकाईदिएका ती नेताहरूले चुनाव भएको तीन बर्षहुन लाग्दा पनि संविधानको स अक्षर समेत लेख्न सकेका छैनन् र अझै पनि जनतालाई आशाका झुठा कथाहरू सुनाउन उनीहरूले छाडेका छैनन् ।
यस्तै देखियो मंगलबार एक कार्यक्रममा जहाँ एकीकृत माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराई दर्जनौ कलाकारहरूको बीचमा थिए । हस्ती नायक भुवन केसी र निर्देशक उज्जवल घिमिरेले चलचित्र उद्योगको समस्या भट्टराईलाई सुनाउदै थिए । जसको जवाफमा भट्टराईले यस्ता समस्या सवै क्षेत्रमा भईरहेको प्रतिक्रिया पनि दिदै थिए ।
दुई दशक भन्दा बढीको अनुभव भएपनि नायक भुवन केसीले चलचित्र उद्योगको समस्या हल गर्न भट्टराईलाई आग्रह गर्दै थिए । उनी भन्दै थिए 'यहाँ सिनियारिटीको कुनै कदर भएन, चलचित्र प्रदर्शन गर्न पुराना भनिएकाहरू आज लाईन बसेर आउनु पर्ने समस्या छ ।' उता निर्देशक घिमिरेले पनि भुवनको बोलीमा हैसे होस्ठे लगाउदै थिए । बलिउडको उदाहरण दिदै उनी भन्दै थिए 'भारतमा सवै भन्दा राम्रो रेमिट्यान्सको स्रोत चलचित्र उद्योग बनेको छ तर यहाँ खै ? '
केही मिनेटको सानो अर्न्तक्रियामा चलचित्र उद्योगका धेरै नमिठा अनुभवहरू घिमिरे र केसीले भट्टराईलाई सुनाए तर ती समस्यालाई राम्ररी न त भट्टराईले बुझ्न पाए न त राम्रो आश्वासन उनीहरूलाई दिन भ्याए । यति भन्दै थिए उनी 'जसरी भएपनि सकारात्मक विकासलाई सोचौ सवैले ।'
उनी त फिल्म हेर्न आएका थिए फिल्म हेरे र गए । संविधान बनाउने जिम्मा पाएका भट्टराईको हातमा संविधान सभा भित्रको कलम छ र कागज पनि । चाहेमा उनले उपयूक्त चलचित्र कानुनलाई सवैको सामु ल्याउन सक्छन् । सर्वहारा जनताको नेताले परिचित भट्टराई नेपाली चलचित्रलाई माया गर्ने नेताको रूपमा परिचित नभएका हैनन् र त्यसैगरी मंगलबार स्पटमा कलाकारहरूलाई उनले बाचा दिएका छन् चलचित्र उद्योगलाई माथि लैजाने ।
सफल अर्थमन्त्रीले समेत परिचित भैसकेका नेता भट्टराईको त्यो सानो र झिनो आशामा फेरी पनि नेपाली कलाकारले मिठा सपनाहरू बुन्न थालेका छन् । भट्टराईलाई भेट्ने धेरै चलचित्रकर्मीको आखामा मंगलबार बेलुकी राम्रो निद्रा समेत आएको हुन सक्छ ।
यता नेताको मात्र भर नपरी मिठो सपना बोक्ने कलाकारहरू आफैले यो क्षेत्र सुधार गर्न कम्मर कसे अझ राम्रो हुन्थ्यो । अभिनय मात्र हैन उद्योगलाई सुधार गर्ने कतर्व्य पनि आफ्नो हो भन्ने कुरालाई कलाकारहरूले आफ्नै ठाँउबाट बुझ्न जरूरी पनि देखिन्छ ।
जे होस चलचित्रकर्मीको आँखामा मिठो सपना छरेर गएका भट्टराईले त्यो सपनालाई विपना बनाईदिन्छन वा बनाईदिदैन फेरी एक पटक नेता भट्टराईलाई विश्वास गरी झिनो आशाको कल्पना गरौ ।