मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्क्रिप्ट राईटरको सिर्जनामा ताल्चा

सुमन गैरे, काठमाण्डौ, 2010/11/13

पछिल्लो समयमा प्रदर्शन भएका चलचित्रहरूको आयु निकै छोटो रह्यो । हरेक चलचित्र एक हप्तामै उत्रन बध्य छन् । चलचित्रको आयु नलम्बिनुको कारणहरू मध्ये एउटा मुख्य कारण हो कथा ।

 

पछिल्लो समयका चलचित्रहरू लगातार फ्लप हुँदै गईरहेको अवस्थामा ति अधिकांश चलचित्रमा कथालाई नै मुख्य कमजोरीको रूपमा हेरिएको छ ।  जग बलियो भए पो घर बलियो हुन्छ चलचित्रको मेरूदण्ड नै मानिने कथामा नै हेलचक्र्याईं गरेपछी दर्शकले पनि चलचित्रलाई कसरी माया गरून् र ?

 

भर्खरै मात्र प्रदर्शनमा आएको चलचित्र '. कसले चोर्‍यो मेरो मन' लाई नै उदाहरणको रूपमा लिउँ । अधिकांश चलचित्र समिक्षक तथा चलचित्रकर्मीले यसको मुख्य कमजोरी नै कथाबस्तु रहेको तर्क प्रस्तुत गरे । प्रदिप भारद्वाजलाई कथा लेख्न आउँदैन भन्ने पनि यो क्षेत्रमा नभेटिएका हैनन् । चलचित्रमा कथा बाहेक अन्य पक्षको सबैले तारिफ  नै गरे । हुनत उनले आफ्नो ठाउँमा मेहनत नगरेका हैनन् तर पनि कथा किन कमजोर भयो त ? यो प्रश्नलाई गम्भिर भएर सोच्नु पर्ने बेला आएको छ । 

 

लामो समय देखि चलचित्र क्षेत्रमा काम गर्दै आएका निर्देशक, निर्माता तथा कलाकार युवराज लामा भन्छन्, 'हाम्रो कथा कमजोर हुनुको मुख्य कारण नै स्क्रिप्ट राईटरको पारिश्रमिक कम भएर हो ।' जाबो ५० हजारमा उसले कस्तो कथा पो लेख्न सक्ला र ? उनी प्रश्न तेर्स्याउँछन् । हुन पनि हो, जब पैसा नै कम हुन्छ भने उसले कथामा नयाँ पन कसरी दिन सक्ला र ? उसले आफ्नो मेहनत अनुसारको पारिश्रमिक पाउने छाँट नदेखे पछि उ बिदेशी चलचित्रको कथालाई नेपालीमा अनुबाद गर्न बाध्य हुन्छ । यो बाध्य बनाउने काम नै निर्माताको रहेको लामाको ठम्याई छ । 

 

यहाँ कति यस्ता निर्माता निर्देशकहरू छन् जस्ले बिदेशी चलचित्रकै कथालाई जस्ताको तस्तै उतार्न प्रोत्साहन मात्र हैन जबर्जस्ती पनि गर्छन् । कथा लेखनमा एक दशक देखि सक्रिय एक स्क्रिप्ट राईटर भन्छन्, 'हाम्रो सिर्जनामा ताल्चा लगाईन्छ जसले गर्दा दर्शकहरूले राम्रो कथामा बनेको चलचित्र हेर्न पाउँदैनन् ।' उनका अनुसार ताल्चा दुई किसिमबाट लगाईन्छ रे । एउटा बिदेशी चलचित्रको कथालाई कपिपेस्ट गरेर अर्को पारिश्रमिक चित्त बुझ्दो नदिएर ।

 

हुन पनि हो, पचासौं लाख खर्च गरेर चलचित्र निर्माण गरिन्छ तर बिचरा एउटा स्क्रिप्ट राईटरले एउटा चलचित्रको कथा लेखे बापत पाउने पारिश्रमिक बढिमा ५० हजार । एउटा कथा लेखेर एक लाख लिने स्क्रिप्ट राईटर कति नै पो होलान् र ?  चलचित्र क्षेत्रमा 'बौद्धिक डकैती' का हिमायती नभएका पनि हैनन् । आफूलाई मै हूँ भन्ने ति हिमायतीले सिङ न पुच्छरको कथा लेखेर पनि यो क्षेत्रको बदनाम गरेको केहि चलचित्रकर्मीको धारणा छ ।

 

तर जे जस्तो भएपनि स्क्रिप्ट राईटरको सिर्जनामा ताल्चा नलगाई उचित पारिश्रमिक दिएर उसलाई स्वतन्त्र रूपमा कथा लेख्न दिने हो भने उसले राम्रो कथा लेख्न सक्ने अधिकांश चलचित्रकर्मीको निष्कर्ष रहेको छ ।