मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पोखरामा छायांकन रहर कि बाध्यता ?

गणेश ढकाल, पोखरा, 2010/11/16

नेपाली चलचित्रको इतिहासमा पर्यटक नगरी पोखरामा छायांकन नभएका चलचित्रहरुको संख्या गन्ने नै हो भने निकै नै कम होला । अझ ६० को दशक देखि यता त झन चलचित्रको छायांकन यहिँ गर्ने भनेर पोखरा आउने चलचित्रकर्मीहरुको क्रम निकै बाक्लिएको छ । त्यो बाक्लो पनलाई हेर्ने हो भने पोखरामा यदि कुनै चलचित्रको छायांकन नभए चलचित्र नचल्ने पो हो कि भन्ने सम्मको त्रास पनि कतिपय चलचित्रकर्मीमा पाईने गरेको छ ।


एक दिनको लागि मात्र होस् या शत प्रतिशत छायांकन नै किन नहोस् तर पोखरामा चलचित्रको छायांकन गर्ने भनेपछि प्राविधिक देखि कलाकार, निर्माता, निर्देशक सवैलाई रमाईलो लाग्ने गरेको छ । आफुद्वारा निर्देशित अघिल्ला दुई चलचित्र मर्यादा र मौसमको लगभग शत प्रतिशत छायांकन नै पोखरामा सकेका निर्देशक श्याम भट्टराईले आफ्नो पछिल्लो महत्वाकाक्षी चलचित्र च्यालेञ्जको एकदिनका लागि मात्र भएपनि पोखरामै छायांकन गरिछाडे ।


कलाकार एवं निर्माता प्रज्ञा जोशीले पनि आफ्नो पछिल्लो चलचित्र नबिर्सें तिमिलाई न पाएँ तिमिलाईको छायांकन दुई दिनको लागि मात्र भएपनि पोखरालाई नै रोजिन् । त्यसो त प्रंदर्शनको तयारीमा रहेको अर्को चलचित्र धर्माको 'यो मनको खाली पानामा' बोलको गीतको छांयाकन कै लागि भनेर धर्माको युनिटले पोखराको फुलवारी रिसोर्टमा केही दिन बिताएको थियो । यसै गीतको छायांकनका लागि नायिका मनिषा कोइराला पोखरा सम्म आईपुगिन ।

 

यता प्रदिप उदयले पनि आफ्नो पछिल्लो चलचित्र 'मालतीको भट्टी' लाई पोखरा नै ल्याई छाडे । यो चलचित्र पनि पोखरामा छायाँकन नगरी पूरा हुन सकेन र एउटा गीत र केहि सिनको लागी भए पनि पोखरा मालतीको यूनिटले पोखरानै रोज्नु पर्‍यो । प्रस्तुत चलचित्र बाहेक मेरो लभस्टोरी, तुलसी, सडक, पल्टन, आई एम सरी, जलजला, खुसी आदि चलचित्रहरु पनि यो सालमात्र पोखरामा छांयाकन भएका चलचित्रहरु हुन् ।

 

यस्तै नव निर्देशक सुदर्शन थापाद्वारा निर्देशित तेस्रो चलचित्र 'के यो माया हो' तिहार अघिदेखि र तिहार पछी पनि पोखरामै छांयाकन भईरहेको पछिल्लो चलचित्र हो । त्यसैगरी छांयाकनको लागि पोखरामा आउनै लागेका चलचित्रहरुमा शोभित बस्नेतको तँ त साह्रै सप्रिस नि बद्री, उद्वव पौडेलको प्रितीको फूल, रामजी लामिछानेको पहिलो माया हो मेरो र सुरज आर डी प्रस्तुति रहने माई लाइफ लगायतका चलचित्रहरु रहेका छन् ।


पोखरामा चलचित्रको चापलाई वर्षौ देखि नजिकबाट अवलोकन गरिरहेका पोखराका हल संचालक उतम दुवाले एकल लगानीमा चलचित्रकर्मीहरुलाई छायांकनमा सहज हुने गरी पोखराको बुढीबजारमा बाराही सुटिङ्ग स्टुडियो खोलिदिएपछि विभिन्न यूनिटलाई छायाकंन गर्न सहज भएकाले पनि अधिकाशं चलचित्रकर्मीको नजरमा पोखरा पर्न सकेको सहज अनुमान लगाउन सकिन्छ ।  तर पोखरामा छायांकन गर्ने भनेर आए पनि प्राय चलचित्रकर्मी सधैं एउटै लोकेशन र एउटै चिजलाई मात्र खिचेर जाने गरेका छन् । कतिपय चलचित्रकर्मीहरु त यति सम्म गर्छन कि काठमाण्डौ वरपर नै पाईने लोकेशनका लागि पनि पोखरा आएर अनावश्यक खर्च गरेको पाईएको छ ।


समान्य सुटिङ्गका नाममा अनावश्यक खर्चलाई हेर्दा पोखरा छायांकनका लागि कतिपय चलचित्रकर्मीका लागि फेसन स्पष्ट नहोला भन्न पनि सकिन्न । पोखरामा नयाँ नयाँ लोकेशन खोजेर छायांकन गर्नसक्ने हिम्मत भने कमै चलचित्रकर्मीहरुमा पाईएको छ ।



फेवताल नगरी पोखराले समेत परिचित यो छेत्रमा सुटिङ्ग गर्न चलचित्रकर्मीलाई जति उत्साह र उमंग छ त्यसको ठीक विपरित यहाँका होटल व्यवसायीहरुलाई चलचित्रकर्मीबाट अप्ठारो समेत परेको छ । नाम उल्लेख नगर्ने सर्तमा एकजना व्यवसायी भन्छन्, 'चलचित्रकर्मीहरु पोखरा त आउछन् तर पैसाको इष्टिमेट नै नगरीकन आउछन् । आउने बेलामा बाघ बनेर आउछन जाने बेलमा मुसो बनेर भाग्छन् ।' उनी थप्छन्, ' पैसा नै नभएकाहरुले किन फिल्म बनाउनु ? होटल तथा रेष्टुरेण्टमा खाएको र बसेको समेत पैसा तिर्न नसकेर कतिपय नाम चलेकै कलाकारहरु पनि बन्धकी बसेको उनले बताए ।

 

यसरी बिभिन्न दु:ख कष्टका बाबजुत पनि चलचित्रकर्मीहरूले पोखरालाई नै किन रोजे त ? के नेपालमा पोखरा जस्तो ठाँउ अन्त कहिं नभएर नै हो या पोखराका ठाँउहरूले चलचित्रकर्मीलाई मोहनी नै लगाएको हो । यो एउटा सोचनिय  बिषय बनेको छ ।