
पोष्ट प्रोडक्सनको कार्यमा रहेको विमल पौडेल निर्देशित दोस्रो चलचित्र 'किसान'को बारेमा छलफल गर्न बिहिबार साक्षात्कार कार्यक्रम आयोजना गरिएको छ ।
लामो समय पछी नेपाल फर्किएका अभिनेता सरोज खनाल लगायत केही चलचित्रकर्मी र सञ्चारकर्मीको बीचमा आयोजना गरिएको उक्त साक्षत्कारमा चलचित्रको केही गीत र स्टील तस्बिरहरू समेत देखाईएको थियो । पूर्णतया नेपाली कथाबस्तुमा आधारित भएर निर्माण गरिएको उक्त चलचित्र मौलिक पाराको रहेको निर्माण पक्षको दाबी छ ।
कालिगण्डकी सिने म्याक्स प्रालिको ब्यानरमा बसन्त कुमार श्रेष्ठको प्रस्तुती रहेको उक्त चलचित्रमा संगीतकार चेतन सापकोटाले पहिलो पटक कम्पोज गरेका हुन । चितवनका विभिन्न स्थानमा छायाकंन गरिएको उक्त चलचित्रमा निरंकुश मुखियासंग किसानको संघर्षको कथा समेटिएको छ ।
राजेश हमाल, गणेश उप्रेती, नीर शाह, मौसमी मल्ल, नन्दिता केसी, नीता ढुङ्गाना लगायतको अभिनय रहेको उक्त चलचित्रमा राहुल केसीले नव नायकमा डेब्यू गरेका छन् ।
केही महिना भित्रै प्रदर्शन गर्ने तयारीमा रहेको उक्त चलचित्रमा राजु केसीले छायाकंन गर्नुको साथै शिव रेग्मीसंग मिलेर नृत्य निर्देशन समेत गरेका छन् । उक्त चलचित्रका निर्माता संजीव प्रधान हुन भने चलचित्रमा रोशन श्रेष्ठले द्धन्द्ध निर्देशन गरेका छन् ।