मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किरणले गरे महानायकको पुजा

विजय आवाज, काठमाण्डौ, 2010/11/22

कलाकार समाजका ऐना, सरकारी नजरमा गहना, दर्शकका नजरमा प्रेरणाका स्रोत । जो जसले जसरी वुझे पनि कलाकारहरुको स्थान कुनै पनि देशमा आफ्नै प्रकारको हुन्छ । अझ चर्चित कलाकारको त कुरै नगरौ ।

 

नेपाली चलचित्र उद्योगमा दर्शकका रोजाईका कलाकार धेरै छन् । १० दर्शकलाई मनपर्ने कलाकारको वारेमा सोध्ने हो भने बिभिन्न कलाकारको नाम आउँछ । नेपाली चलचित्र उद्योगमा एउटा नाउँ छ जुन नाउँलाई मन नपराउने र नचिन्ने दर्शक कमै होलान् ।

 

विगत २१ वर्षदेखि चलचित्र उद्योगमा राज गर्दै आएका राजेश हमाल दर्शकको नजरमा बिभिन्न उपनामले चिनिने गर्दछन् । अझ यसो भनौं राजेशको राजले दर्शकदेखि नेतासम्म सवैलाई लोभ्याएको छ । कतिपय स्थानमा राजेशलाई भगवान ठान्ने मानिसहरु पनि कम छैनन् । आखिर राजेशमा केहि न केहि त्यस्तो विशेषता छ जसले गर्दा उनि नेपाली चलचित्र उद्योगको खम्बा वनेर आज पनि उत्तिकै सशक्त रुपमा उत्रिएका छन् ।

 

राजेशलाई नेपाली चलचित्रका चलचित्रकर्मीले समेत पुजा गर्छन् भन्ने कुराले तपाइलाई अचम्मित वनाउन सक्छ । कुरा हो आईतवार वेलुकी ४ वजेको । वेलुकी ४ वज्दा नवज्दै काठमाण्डौको वागवजारस्थित एक होटलमा चहलपहल वढेकॊ थियो । चलचित्रकर्मी तथा पत्रकारहरुको वाक्लो उपस्थितीले होटल परिसर चलचित्रमय भएको थियो । चलचित्र हात लाग्यो शुन्यको शुभमुहुर्त कार्यक्रममा उपस्थित उनिहरु आ आफ्नै सुरमा गफिदै थिए । अधिकांश समय सार्वजनिक समारोहमा सहभागी नहुने महानायक राजेश हमालको उपस्थिती हुने भएकाले पनि कार्यक्रम हमालमय भएको थियो ।

 

नेपाली चलचित्रको परम्परागत शैलीलाई अपनाउदै चलचित्रका निर्माणकर्ता तथा कलाकार क्यामेरा र नरिवल पुजा गरेर चलचित्रले पैसा कमाउने सपना देख्न थाले । निर्देशक निर्माता नायक हमाल लगायतका अधिकांश कलाकारले पुजा गरेपछि यस चलचित्रका कलाकार किरण के.सी. पुजा गर्न लम्किए । हातमा अगरवत्ति लिएर अगाडि वढेका किरणको हात नरिवललाई छोडेर राजेश हमालतर्फ लम्कियो । हमाल तर्फ उनि लम्किए पछि उपस्थित अधिकांश व्यक्तिहरु अचम्ममा परे ।

 

राजेश तर्फ अगरवत्ति लिएर वढेका किरणले हमालको पुजा गर्न थाले । हमालको पुजा गर्दै जाँदा उनले भने, 'नरिवलको पुजा गरेर चलचित्र राम्रो वन्ने होईन बरू महानायक ज्यूको पुजा गरे उहाँले चलचित्रमा राम्रो अभिनय गरे चलचित्र हिट हुनसक्छ ।'  किरणले चलचित्रमा राम्रो अभिनय गर्नुहोस् भन्दै राजेशको पुजा गरिरहँदा भर्खर मात्र कपाल छोट्याएका हमाल भने मुसुमुसु हासिरहेका थिए ।

 


केसीले राजेशको पुजा गरेर सुरुवात गर्न खोजेको नयाँ ट्रेन चलचित्र उद्योगमा अरुले आत्मसाथ गर्लान् या नगर्लान् यो समयले नै वताउने छ । तर अभिनय राम्रो गर्नुहोस् भन्दै  किरणले पुजा गर्नुको अर्थ के हो  ? हास्यकलाकार किरण केसी महानायकको अभिनयवाट सन्तुष्ट नभएर उनले पुजाको शैलीमा आफ्नो मुख फोरेका त होईनन् ? 

 

हुनत चलचित्रको मुहुर्तमा नरिवल पुजा गरेर मात्र चलचित्र राम्रो वन्ने होइन । चलचित्रको कथावस्तु कलाकारको अभिनय पनि राम्रो हुनु जरुरी छ । किरणले यहि कुराको सन्देश दिन पनि हमालको पुजा गरेको हुनसक्छ । मनमा जे जस्तो सोचेर किरणले पुजा गरेपनि उनले नायक राजेश हमाललाई चलचित्र उद्योगको हस्ति भने मानेका छन् । किरणको पुजा खिस्सी थियो या सम्मान त्यो त गर्भमा मात्र छ तर नरिवललाई पुजा गर्नुभन्दा कलाकारलाई पुजा गरे कलाकार देशका सम्पत्ती हुन् भन्ने भनाई व्यवहारमा पनि सार्थक हुने थियो कि ?