सायद यो कुरा धेरैलाई थाहा छैन होला ५३ बर्षे बरिष्ठ हाँस्य अभिनेता हरिबंश आचार्य र २८ बर्षे नायक राजबल्लभ कोईराला मामा भान्जा हुन् भनेर । यि मामा र भान्जा जहाँ भेटिए पनि एक अर्कामा मामा भान्जाको स्नेह देखाउन भ्याईहाल्छन् । हरिबंशलाई राजले भेट्नासाथ मामा भन्दै नमस्ते गर्छन् भने त्यसको बदलामा हरिबंशले मेरो प्यारो भान्जा भनेर उनको काँधमा धाप मार्दै अंगालोमा एक पटक बेरिहाल्छन् ।
राज हरिबंशका बाह्रौ भान्जा हुन् । पारिवारिक नाताको हिसावले राज हरिबंशका आफ्नै भान्जा नभए पनि हरिबंशले उनलाई पारिवारिक सदस्यको हिसावले बाह्रौ भान्जाको दर्जा दिईसकेका छन् । दुई बर्ष अघि चलचित्र 'हाँसि देउ एक फेर' को छायाकंनको क्रममा मामा भान्जा भएर अभिनय गरेका हरिबंश त्यो समय देखि राजलाई भान्जा भन्दा रहेछन र राजले उनलाई मामा । यि दुईको यो रहस्य भने आईतबार आयोजित एक पत्रकार सम्मेलनमा खुलेको हो जहाँ एक अर्कालाई मामा भान्जा भनेर यि दुईले सम्बोधन गरिरहेका थिए ।
यस्तै कार्यक्रमको बीचमै हरिबंशले राजलाई लक्षित गर्दै भन्दै थिए, 'एघार वटा भान्जा थिए एउटा थपियो ।' हरिबंशले बाँकि एघार भान्जा आफ्नै दिदीबहिनीको रहेको फिल्मीखबरलाई बताए । फिल्मीखबरले हरिबंशलाई अर्को फिल्ममा राज र तपाईं बिच कुनै नयाँ सम्बन्ध जोडियो भने अहिलेको सम्बन्ध टुट्ने त हैन भनि प्रश्न गर्दा उनले भने, ' आगामी चलचित्रमा जे जस्तो सम्बन्ध भएपनि रियलमा भने हाम्रो सम्बन्ध मामा भान्जाकै रहने छ ।'
दश बर्ष अघि पोखरा एफएममा आरजे हुँदा सहकर्मीले अन्तवार्ता लिने क्रममा स्टूडियो भित्र हरिबंश र राजको पहिलो भेट भएको थियो । त्यो समय राजले मात्रै हरिबंशलाई चिन्दथे । समय परिवर्तन सँगै राज पर्खि बसेंबाट नायक भए र त्यसको केही समय लगत्तै हरिबंशसँग चलचित्र हाँसि देऊ एक फेरमा आभिनय गर्ने मौका पाए । यहि चलचित्रबाट यि मामा भान्जा दर्शकलाई पर्दा मार्फत आगामी शुक्रबारबाट हँसाउने तयारीमा छन् ।