
४९ बर्षको उमेरमा गएको मंसिर १ गते राति हृदयघातको कारण निधन भएका निर्देशक राजुध्वज राणाको तेह्रौ पुण्य तिथिको अवसरमा सोमबार उनको सम्झना गरिएको छ ।
निर्देशकहरूको संगठन चलचित्र निर्देशक समाजले आफ्नै कार्यालयमा आयोजना गरेको श्रद्धाञ्जली कार्याक्रममा निर्देशकहरू र केही सञ्चारकर्मीले स्वर्गीय राणाको तस्बिरमा माल्यार्पण गर्दै उनको आत्माको शान्तिको कामना गरे । यस्तै १३औ दिनको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै निर्देशकहरूले चलचित्र क्षेत्रमा कलाकारहरूको अवस्था र राज्यको वेवास्ताको बारेमा चर्चा गरेका थिए ।
२०५० सालमा प्रेमपुजा चलचित्र मार्फत निर्देशन यात्रा सुरू गरेका स्वर्गीय राणाले पछिल्लो चरणमा चम्पाचमेली भन्ने चलचित्र निर्देशन गरेका थिए । जुन चलचित्र हाल पोष्टप्रोडक्सनमा छ । यस्तै स्वर्गीय राणाले चेली, पाकेटमार, पिरती आँफै हुँदो रैछ, सिंदुरपोते जस्ता नेपाली चलचित्रहरू पनि निर्देशन गरेका थिए ।
राणाले थारू भाषाका केही चलचित्रहरू जीवन एक लदिया, बहछार, माझिमाया, आकाश गंगा पनि निर्देशन गर्नुको साथै पछिल्लो समयमा आफ्नै लगानी र निर्देशनमा 'द पावर' नामक चलचित्र निर्माण गरेका थिए जुन चलचित्रलाई उनले पूर्ण गर्न पाएनन् ।