भनिन्छ, दर्शक कलाकारका लागि भगवान हुन र तीनै भगवानले आफूलाई रूचाई दिए स्टार बन्न धेरै रात कुर्नु पर्दैन । यस्तै तीन बर्ष अगाडी एउटा लक्की रात नायक आर्यन सिग्देलका लागि आईपुग्यो जतिबेला उनले रेखा थापाको फिल्म 'किस्मत' खेल्ने मौका पाए र रातारात सर्वोत्कृष्ट नायकको पक्तिमा आफनो नाम लेखाउन सफल भए ।
'किस्मत' देखि 'के यो माया हो' सम्म आईपुग्दा उनको फिल्मको संख्या १३ पुगिसकेको छ तर उनको क्रेज भने १३ गुणाले दिनानुदिन बढिरहेको बेला फिल्मीखबरले प्रत्यक्ष १ सय दर्शकलाई आर्यनको बारेमा सोधेको प्रश्नको उत्तरलाई छनौट गर्दै समाचार मार्फत हुबहु सार्वजनिक गर्ने प्रयास गरेका छौ ।
दोस्रो पुस्ताका नम्बर वान नायक आर्यन सिग्देल पछी केही दर्शकले राजबल्लभ कोइराला,जीवन लुइटेल र सुमन सिंहको नाम लिएका छन् । यस्तै केहीले महानायक राजेश हमाललाई नेपाली फिल्मको नुन भनी संज्ञा दिएका छन् । नुनको अर्थ तरकारी जति मिठो भएपनि नुन विना त्यो खल्लो नै हुने दर्शकको प्रतिक्रिया थियो ।यस अर्थमा फिल्म इन्डष्ट्रीमा महानायकको आवश्यक्ता दर्शकलले अझै खोजिरहेका छन् भन्ने बुझिन्छ ।
विराटनगर टंकी सिनुवारीकी १८ बर्षीया युवती संजिता पन्तले आर्यन आफ्नो नम्बर वान हिरो भएको प्रतिक्रिया दिएकी छिन् । उनले भन्दै थिईन् 'रिलिज भएका आर्यनको कुनै पनि फिल्म हेर्न छुटाएको छैन ।' यदि केही दिनका लागि आर्यनले तपाईलाई आफ्नो गर्लफ्रेण्ड बन्ने प्रस्ताव गरे के गर्नु हुन्छ ? भन्ने फिल्मीखबरको प्रश्नमा उनले जवाफ दिईन 'केही दिनका लागि त के, एक घण्टाको लागि उसले गर्लफ्रेण्ड बनाउने प्रस्ताव गरे पनि बन्न तयार छु । यस्तै आर्यन पछी उनलाई सुमन सिंह र राजबल्लभ कोइराला मन पर्दो रहेछ ।
यस्तै टंकी सिनुवारीकै २१ बर्षीय सन्तोष अधिकारीले पनि आर्यनलाई आफ्नो पहिलो हिरो भनेका छन् । सन्तोषसँग सोधिएको विविध प्रश्नमा आर्यन किन आफूलाई राम्रो लाग्ने उत्तर नै नभएको उनको प्रतिक्रिया थियो । आर्यन पछी सन्तोषले क्रमश राजबल्लभ कोइराला, जीवन लुइटेल र सुमन सिंह मन पर्ने जवाफ दिएका छन् । उनीसँगै विराटनगरका केही दर्शकहरूबाट लिईएको मतमा प्राय सवैले आर्यननै आफ्नो पहिलो रोजाईको हिरो भनी उत्तर दिएका छन् ।
यस्तै नाम नखुलाउने सर्तमा काठमाण्डौ नयाँ बानेश्वर निवासी उच्च खानदानकी श्रेष्ठ थरकी १९ बर्षीया एक युवतीले यदि आर्यनसंग आफुलाई जस्तोसुकै चलचित्र खेल्न प्रस्ताव आए स्विकार योग्य हुने समेत बताईन् । सञ्चार माध्यममा आर्यनका ब्यक्तिगत नराम्रा टिप्पणी आएपनि उ एकदमै मन पर्ने ती युवतीको भनाई थियो । उनले आर्यनका कुनै पनि फिल्म हेर्न नछुटाएको पनि बताईन् ।
यस्तै सोलुखुम्बु घर भएका तर हाल काठमाण्डौ सिनामंगल निवासी २२ बर्षीय पुरूषोत्तम पराजुललीले नेपाली चलचित्रमा आर्यन बाहेक राम्रो अभिनय गर्ने कुनै पनि हिरो अहिले सम्म नदेखेको बताएका छन् । उनी भन्दै थिए 'यदि म केटी भईदिएको भए पार्वतीले शिवजीलाई पाउनको लागि गरेको ब्रत भन्दा पनि अझ कठोर ब्रत गर्न तयार हुन्थे ।' यस्तै अधिकाश हलिउड र बलिउड चलचित्र हेर्ने गौशाला निवासी २२ बर्षीय ब्याचलर युवक विनोद घिमिरेले पनि आर्यनकै कारण आफूले नेपाली चलचित्र हेर्न थालेको प्रतिक्रिया दिएका छन् ।
यि त भए आर्यन प्रति बढेको युवा क्रेजको केही उदाहरण मात्र । तर अधवैशे विवाहित महिला र पुरूष साथै केही बालबालिकालाई समेत आर्यनको बारेमा सोधिएको प्रश्नमा उनीहरूले आर्यन निकै मन पर्ने बताएका छन् । केही चलचित्रकर्मीहरूले पनि आर्यनले केही ब्यक्तिगत आचरण सुधार गरे उनको बानी आफूहरूलाई मन पर्ने प्रतिक्रिया दिएका छन् । हेरौं बढिरहेको आर्यनको यो क्रेज यसरी नै अगाडी बढ्ने हो वा हैन त्यो भने उनको ब्यक्तिगत आचरण र समयले निर्धारण गर्ने छ ।