श्रीकृष्णको होम प्रोडक्सनको चलचित्र 'कहाँ भेटिएला' डेब्यू हिरोइन स्वेता खड्का र नायक श्रीकृष्ण श्रेष्ठको पछिल्लो चरणमा विभिन्न सम्बन्धका कुरा आएपनि अन्तत: नायक श्रेष्ठले स्वेतालाई उडाएरै छाडे ।
बिहिबार बेलुकी ठीक नौ बजे कारमा चढेर दाजु भाउजुको साथमा त्रिभुवन अर्न्तराष्ट्रिय विमान स्थल पुगेका श्रीकृष्णले स्वेतालाई ड्रयागन एयर मार्फत दक्षिण कोरिया लिएर गएका छन् । तीन वटा ठूला व्रिफकेश र केही हाते लगेजको साथमा कोरिया हानिएका श्रीकृष्ण र स्वेता त्यो समय निकै खुशि पनि थिए । तर उनीहरूको त्यो उडाई केबल बजनेश भ्यूको मात्र हो ।
कोरियाको सिओलमा आगामी डिसेम्बर पाँच तारिख आईतबारका दिन आयोजना हुने एक कार्यक्रममा सहभागी हुन तथा आफ्नै चलचित्रलाई प्रदर्शन गर्न उनीहरू कोरिया प्रस्थान गरेका हुन् । आईतबार सिओलमा 'कहाँ भेटिएला' प्रदर्शन गरिदैछ र त्यसको एक सातामा पुसानमा अर्को शो हुँदैछ ।
कोरिया स्थित चलचित्र कलाकारसंघ तथा प्रभु इन्टरनेशनलले आयोजना गर्ने विविध कार्यक्रममा उनीहरू सहभागी समेत हुदैछन् । झण्डै पन्ध्र दिनका लागि कोरिया प्रस्थान गरेका श्रीकृष्णले एयरपोर्टमा भन्दै थिए 'यो चौथो पटकको कोरिया यात्रा हो। ' उता स्वेताको भने कोरिया पहिलो यात्रा रहेछ ।
नेपालमा राम्रो ब्यापार गरेको शिव रेग्मी निर्देशित चलचित्र 'कहाँ भेटिएला' को डिमाण्ड कोरियामा बढेपछी श्रीकृष्ण आफैले सो चलचित्र लिएर कोरिया गएका हुन् । यस अघि सो चलचित्रलाई अष्ट्रेलियामा सफल रूपमा प्रदर्शन गरिएको थियो । आफ्नो चलचित्र लिएर विश्व प्रदर्शन यात्रा सुरू गरेका श्रेष्ठले कोरिया पछी डिसेम्बर लास्टमा बेल्जियम, फेब्रुअरीमा मलेसिया, मार्चमा अमेरिका र त्यसपछी आयरल्याण्डमा प्रदर्शन गर्ने बताए ।